काठमाडौं-गत भदौमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर मीनभवनस्थित यातायात विभाग परिसरमा ‘इम्बोस्ड नम्बर’ प्लेट उद्घाटनका क्रममा गाडी सुरक्षित हुने भन्दै थिए । समयअनुसार निकै सान्दर्भिक हुने दाबी गर्दै बलायरले अनिवार्यरूपमा सबैलाई जडान गर्न आग्रह गरे ।


ADVERTISEMENT


उद्घाटन गरेको ४ महिना बितिसक्दा पनि ७३ गाडी धनीले मात्र उक्त नम्बर प्लेट जडान गर्दा प्रक्रियाप्रति प्रश्न उठाइएको छ । लामो समय बित्दा पनि गाडीवालाले खासै चासो नदिएपछि विभागका अधिकारी कतै इम्बोस्ड जडान कार्यक्रम असफल हुने हो किन भन्ने शंका गर्न थालेका छन् । ‘निजी ६३ र सरकारी ८ वटा गाडीले मात्र हालसम्म जडान गरेका छन्,’ ती अधिकारीले भने, ‘तर जति प्रभावकारी हुनुपर्ने हो, त्यति हुन सकेन ।’


ADVERTISEMENT

# # #


हचुवाका भरमा जडान प्रक्रिया अघि बढाएकाले पनि खासै प्रभावकारी हुन नसको उनको दाबी छ । नम्बर प्लेट राख्ने जिम्मेवारी पाएको अमेरिकी र बंगलादेशी संयुक्त कम्पनी ‘डेकाटु टाइगर’ ले मेसिन जडान गरेर नम्बर प्लेट जडान गर्न थालेको हो । सरकारले पाँच वर्षभित्र मुलुकभरका सबै गाडीमा इम्बोस्ड प्लेट जडान गर्ने विभागले प्रतिबद्धता जनाए पनि उपत्यकामै प्रभावकारी हुन सकेको छैन ।

सरकारी गाडीमा अनिवार्य इम्बोस्ड नम्बर राख्न सार्वजनिक सूचना जारी गरिएको जानकारी विभागका प्रवक्ता टोकराज पाण्डेले दिए । चैत मसान्तभित्र सरकारी तथा संस्थानका गाडीमा अनिवार्य राख्न निर्देशन दिइएको उनले बताए । त्यसैगरी विभागले १३ लट नम्बरमाथिका सम्पूर्ण ४ पांग्रे निजी सवारीलाई ०७५ असार मसान्तसम्म जडान गरिसक्न निर्देशन दिएको छ ।

तर उक्त प्रावधान राखे पनि १३ लट माथिका ३ तथा ४ पांग्रे सवारीधनीलाई नम्बर प्लेट अनिवार्य नभएको जनाएको छ । गत कात्तिक २० गतेसम्म नम्बर प्लेट जडानका लागि अनलाइन आवेदन माग गरे पनि सोचेअनुसार नआएको उनले बताए । ‘निर्वाचनले गर्दा सेवाग्राहीले आवेदन फर्म नभरेका होलान तर अब सबैले जडान गर्छन्,’ उनले भने, ‘अनिवार्य भएपछि सबैले जडान गर्छन् ।’

धातुको प्लेटमा अक्षर बाहिर उठ्ने गरी लेखिएको स्मार्ट नम्बर प्लेटलाई इम्बोस्ड भनिन्छ । नम्बर प्लेटमा लोगोसमेत हुनेछ । प्लेटको बीचमा माथि पर्ने गरी अञ्चल र प्रदेशको नाम लेखिनेछ ।

प्लेटको अर्कोपट्टि लेजर प्रिन्टबाट ७ अंकको गोप्य नम्बरसहितको चिप जडान गरिनेछ । मेसिन विभागको परिसरमा जडान गरिने पाण्डेले बताए । पाँच वर्षपछि उक्त मेसिन सरकारलाई नै हस्तान्तरण हुने विभाग र ठेकेदार कम्पनीबीच भएको सम्झौतामा उल्लेख छ । इम्बोस्ड प्लेट बलियो र किफायती भएको पाण्डे बताउँछन् ।

विभागले नम्बर प्लेट जडान भएका सवारीमा चिपसहितको स्टिकर टाँस्ने जानकारी उनले दिए । चिपभित्र सवारी धनी र सवारीको विस्तृत विवरण राखिने जानकारी दिँदै प्रहरीले सवारीको विस्तृत विवरण सजिलै पत्ता लगाउन सक्ने पाण्डेले दाबी गरे । ‘स्टिकरमार्फत सवारी विवरण थाहा हुन्छ,’ उनले भने, ‘प्लेटभित्र बारकोड पनि राखिन्छ ।’ आधुनिक प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइसर आईएफआईडी जडान गरिने उनले बताए ।