काठमाडौं-पश्चिमी वायुको प्रभावका कारण देशैभरि चिसो बढ्दै गएको छ भने तापक्रम घट्दै गएको छ । तराईसहित हिमाल, पहाडसम्म क्रमिक रूपमा तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ । उपत्यकामा पनि चिसो बढेपछि बिहान बजार कलकारखाना ढिलो खुल्ने र बेलुका सबेरै बजार सुनसान हुन थालेका छन् ।


ADVERTISEMENT


पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम क्षेत्रका तराईमा बादल लाग्नुका साथै हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद् समीर श्रेष्ठले बताए । ‘यो मौसमा तराईका झापादेखि कञ्चनपुरसम्म शीतलहर चल्न सक्ने भएकाले ज्यान पनि जान सक्छ ।’ श्रेष्ठले भने, ‘डिसेम्बरको मध्यदेखि अन्त्यसम्म अत्यन्तै चिसो हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्छ ।’ तराईमा सामान्यतया बादल हुस्सुले छेकेर तीन दिनसम्म घाम नलागे मात्र शीतलहर चल्छ । अन्य समयमा चिसो भए पनि शीतलहर नचल्ने मौसमविद्को भनाइ छ ।


ADVERTISEMENT

# # #


चिसोबाट बच्न चिकित्सकको सुझाब
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक शेरबहादुर पुनले चिसोमा दम, प्रेसर, हाडजोर्नीका बिरामीले विशेष सर्तकता अपनाउनुपर्ने सुझाब दिएका छन् । यो मौसममा ५ वर्षमुनिका बालबालिकालाई कोल्ड डायरिया हुने भएकाले सजक हुनुपर्ने पुनले बताए । ‘चिसो मौसममा सबैभन्दा धेरै वृद्धवृद्धा र केटाकेटीलाई असर गर्ने भएकाले न्याना लुगा लगाउनुका साथै झोलीलो पदार्थ धेरै खानुपर्छ,’ चिकित्सक पुनले भने, ‘बाहिर निस्कँदा न्यानो हुने लुगा लगाउने, घरबाहिर चिसोमा धेरै समयसम्म नबसेमा चिसोबाट बच्न सकिन्छ ।’

यस्तो छ तापक्रमको अवस्था
विभागको शुक्रबार बेलुकासम्मको तथ्यांकअनुसार सबैभन्दा कम तापक्रम जुम्लामा अधिकतम १६ दशमलव ८ डिग्री सेल्सियस छ भने न्यूनतम माइनस ३ दशमलव ७ डिग्री सेल्सियस छ । जोमसोम अघिकतम १५ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम शून्य दशमलव २ ढिग्री, जिरीमा अधिकतम १९ दशमलव ५, न्यूनतम १ दशमलव ५ डिग्री, विराटनगरमा अधिकतम २३ दशमलव ५ डिग्री न्यूनतम ४ दशमलव २ डिग्री, भैरहवामा अधिकतम १६ दशमलव ५ डिग्री र न्यूनतम ९ दशमलव ४ डिग्री सेल्सियस तापक्रम छ । काठमाडौँ उपत्यकामा अधिकतम २१ दशमलव २ डिग्री र न्यूनतम ३ डिग्री सेल्सियस तापक्रम छ ।