काठमाडौं – खाद्य उत्पादन क्षेत्रमा कार्यरत अमूदी फुड्स लिमिटेडले व्यवसाय विस्तार तथा उत्पादन क्षमता बढाउन विभिन्न स्रोतबाट ५० करोड रुपैयाँ जुटाउने योजना अघि सारेको छ ।
कम्पनीले प्रस्तावित योजनाअनुसार १० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कुल ४२ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले ३२ करोड रुपैयाँ संस्थापक समूह र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याउने प्रस्ताव गरेको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटललाई दिइएको छ । कम्पनीले इन्फोमेरिक्स नेपालबाट ‘बी प्लस’ इसुअर रेटिङसमेत प्राप्त गरेको जनाएको छ ।
आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउँदै कम्पनीले २०८३ मंसिरभित्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिने र २०८४ जेठसम्म स्वीकृति प्राप्त गर्ने लक्ष्य राखेको छ । यद्यपि, आईपीओ निष्कासनको समय नियामकीय प्रक्रिया तथा स्वीकृतिमा निर्भर रहने कम्पनीले जनाएको छ ।
कम्पनीले जुटाउने ५० करोड रुपैयाँमध्ये १९ करोड रुपैयाँ ऋण, १४ करोड रुपैयाँ जग्गा बिक्री, १० करोड रुपैयाँ आईपीओ र ७ करोड रुपैयाँ निजी प्लेसमेन्टमार्फत जुटाउने योजना बनाएको छ ।
व्यवसाय विस्तारकै क्रममा अमूदी फुड्सले आगामी वर्षहरूमा नुडल्स उत्पादनको नयाँ लाइन थप्ने तथा नयाँ उत्पादन बजारमा ल्याउने तयारीसमेत गरेको छ । नयाँ उत्पादन लाइन सञ्चालनमा आएपछि आर्थिक वर्ष २०८४/८५ देखि कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
वि.सं. २०६९ मा स्थापना भएको अमूदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको छ भने उत्पादन कारखाना चितवनको भरतपुरमा सञ्चालनमा छ । कम्पनीमा हाल करिब ११५ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।





