– डा. अरुणा उप्रेती, जनस्वास्थ्यविज्ञ


ADVERTISEMENT


मानिस कसरी बाँचिरहेको छ भन्ने कुराले उसको आयुको निर्धारण गर्छ । शरीरमा रोग लाग्ने वा नलाग्ने भन्ने विषयसमेत ७० प्रतिशत कारण मानिसको जीवनशैलीमा निर्भर हुन्छ । त्यसैले स्वस्थ रहनका लागि व्यवस्थित जीवनशैली आवश्यक हुन्छ । किशोर अवस्थाबाटै यस्तो जीवनशैली अपनाउने बानीको विकास गर्न जरुरी छ । जसका लागि मानिसमा मात्र अठोटको खाँचो हुन्छ ।


ADVERTISEMENT

# # #


सन्तुलित भोजन
स्वस्थ जीवनका लागि स्वस्थ र सन्तुलित आहारको आवश्यकता पर्छ । मानिसलाई दैनिक ऊर्जाको आवश्यकता हुने भएकाले ऊर्जाबद्र्धक खानाको नियमित प्रयोग गर्नुपर्दछ । जसका लागि चामल, चिउरा, गहुँ, आलुजस्ता कार्बोहाइड्रेडयुक्त खाद्यपदार्थको प्रयोग गर्नुपर्छ । शरीरको वृद्धि र विकासका लागि आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुराको पनि नियमित प्रयोग गर्नुपर्छ । एउटै खानेकुरा धेरै खानुभन्दा थोरै–थोरै तर भेराइटी खानु शरीरका लागि स्वस्थकर मानिन्छ । बेलुकीको समयमा हल्का खालका खानेकुरा प्रयोग गर्नुपर्छ । मानिसलाई ठोस पदार्थका साथै झोल पदार्थको पनि आवश्यकता पर्छ । प्रशस्त मात्रामा पानी, ताजा जुस, मोही पिउनुपर्छ ।

शारीरिक क्रियाकलाप
हिँड्नु, दगुर्नु, भर्‍याङ चढ्नु, खेतबारीका काम गर्दा शरीरको बल प्रयोग हुन्छ । खेल्नु, योगा, प्रणायाम गर्नु, ट्रेड मिलमा हिँड्नु, साइक्लिङजस्ता क्रियाकलाप गर्दा पनि शरीरलाई फाइदा पुग्छ । स्वस्थ रहनका लागि दैनिक करिब ४५ मिनेट सक्रिय व्यायाम गर्नुपर्छ । सक्रिय व्यायाम भन्नाले कुद्ने, उफ्रिने, छिटोछिटो हिँड्ने, बास्केटबल, भलिबल, फुटबल, ब्याडमिन्टन, टेनिस, कबड्डी, पौडीजस्ता विभिन्न खेल खेल्ने आदि हुन् । यस किसिमको व्यायामले मुटु, फोक्सोलगायत शरीरका विभिन्न अंगको कार्यक्षमता बढाउँछ ।

सकारात्मक विचार
स्वस्थ जीवनशैलीका लागि सकारात्मक विचार पनि अत्यावश्यक हुन्छ । सकारात्मक सोचले मानिसलाई स्वस्थ राख्नुका साथै मित्रता बढाउन र सफल हुन पनि मद्दत्त गर्छ । नकारात्मक सोच राख्ने मानिसले हरेक काममा समस्या देख्छ तर सकारात्मक सोच भएकाले भने त्यही काममा अवसर । सकारात्मक सोच राख्ने व्यक्ति सधैँ सुखी र खुसी रहन सक्छ । यसले मानिस स्वस्थ रहनका लागि सहयोग गर्छ ।

ध्यान दिनैपर्ने
पोषणयुक्त तथा सन्तुलित आहार उचित प्रयोग, आवश्यक मात्रामा शारीरिक क्रियाकलाप, स्वच्छ वातावरण, पर्याप्त आराम, तनावको उचित व्यवस्थापन, सकारात्मक सोचको विकास, खुसी रहने र आत्मसन्तुष्टि लिने प्रयास ।
नयाँ पत्रिकाबाट