काठमाडौँ – यही मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ ।


ADVERTISEMENT


बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, शान्तिपूर्ण, भयरहित पारदर्शी एवम् विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । उनका अनुसार निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातादालाई धाक–धम्की दिने कार्यलाई रोक्नका लागि समेत आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ । साथै ३० मिनेटभित्र प्रयाप्त सुरक्षाकर्मी पुग्ने गरी ‘रिजर्ब सुरक्षाकर्मी’को व्यवस्था समेत गरिएइको आयोगले जनाएको छ ।

झण्डै १ करोड ८० लाख मतदाता

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन् । त्यसका लागि १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

यस्तै यसपटक निर्वाचन आयोगले अस्थायी मतदाता नामावली समेत तयार गरेर मतदानको व्यवस्था मिलाएको छ । १४१ मतदान केन्द्रबाट र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब ४ लाख ५० हजार मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदानको अवसर पाउने छन् ।

त्यसका लागि आयोगले निर्वाचनमा खटिने सरकारी कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति र कैदी बन्दीलाई अस्थायी मतदाताका रुपमा नामावली संकलन गरेको थियो ।

कति छन् उम्मेदवार ?

निर्वाचनमा प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्तै प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचिमा कायम गरिएको आयोगले जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । आयोगका अनुुसार प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचिमा कायम गरिएको छ ।

यसरी प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल ५ हजार ६३६ उम्मेदवार छन् भने प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल ५ हजार ९०७ उम्मेदवारको नाम अन्तिम बन्दसूचिमा कायम गरिएको छ ।

मतदान हुनेदिन भन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि छलफल, अन्तक्रिया, सभा, सम्मेलन, गोष्ठी, मष्तिष्क मन्थन लगायतका कुनै पनि विधि, माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने आयोगले जनाएको छ ।

यस अवधिमा सामाजिक सञ्जाल, छापा, अनलाइन वा कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसार सामग्री पोष्ट गर्ने, शेयर गर्न वा गराउन समेत नपाइने भएको छ ।