काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ३४ हजार १७० को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
कुल ८४ हजार ३ सय १७ मत खसेको चितवन– २ को अन्तिम मतपरिणाम अनुसार लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रेष्ठले १५ हजार ९१ मत ल्याए । यस्तै नेकपा एमालेका कृष्णभक्त पोख्रेलले १४ हजार ६४९ मत ल्याएर तेस्रो भए । पोख्रेलले यसअघि विजयी भएका थिए ।
करिब ६ महिनाअघि मात्रै पत्रकारिता त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै राजनीतिमा होमिएका लामिछानेले चितवन–२ मा यसअघिका निर्वाचित सांसद पोख्रेल र वर्तमान राज्यमन्त्री श्रेष्ठलाई एकैपटक हराएका छन् । पत्रकारिता क्षेत्रमा चर्चा कमाएका ४७ वर्षीय लामिछाने पहिलो प्रयासमै संघीय संसदको यात्रा तय गर्न सफल भएका हुन् ।