काठमाडौं-नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । अन्य उपचार खर्च व्यहोर्न नसकेपछि अस्पतालका निर्देशक डा.गणेशकुमार राईलाई गुहारे । चेपाङको अस्पताललाई तिर्नुपर्ने नौ हजार शुल्क मिनाहा भयो ।


ADVERTISEMENT


धादिङ रोडाङ १० का चेपाङजस्तै अन्य विपन्नलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्क लिएर उपचार सेवा पुर्‍याउँदै आएको केन्द्रीय बाल अस्पतालका निर्देशक राईलाई अब तनाव थपिएको छ ।


ADVERTISEMENT

# # #


उनी भन्छन्, ‘केही दिनअघि एक लाख ४५ हजार तिर्नुपर्ने बिरामीको शुल्क मिनाहा गर्नुपर्‍यो । अन्य अस्पतालमा उपचार गरी सबै पैसा सकिएपछि अन्तिममा उपचार गर्न आउँछन् । उपचार खर्चसमेत तिर्न नसकेपछि मिनाहा गर्नुपर्छ । त्यसको आर्थिक भार अस्पताललाई परेको छ ।’

अस्पतालका निर्देशक डा.राई र कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यलाई यतिबेला एउटै तनावले सताएको छ, ‘चिकित्सक र कर्मचारीलाई पुस महिनाको तलब समयमा कसरी खुवाउने ? ’ अस्पताल अहिले मासिक ८ लाख घाटामा छ । सरसफाइमा मात्र वार्षिक एक करोड ६० लाख खर्च हुने गरेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा करिब ६ सय कर्मचारी छन् । ती कर्मचारीलाई तलब खुवाउन अस्पतालले मासिक १ करोड हाराहारीमा आम्दानी गर्नुपर्ने हुन्छ । तर, मंसिर महिनामा करिब ७० लाख मात्र आम्दानी भएको छ ।

उधारोमा उपदान

अस्पतालबाट अवकाश पाएका केही कर्मचारीलाई उपदान दिन नसकेर उधारो रहेको अस्पताल प्रशासन स्रोतले बताएको छ । पैसा तलब खुवाउनै समस्या भएपछि केही महिनाअघि ओपीडी र अन्य सेवा शुल्कमा सामान्य वृद्धि गरिएको छ । आचार्य भन्छन्, ‘अस्पताल डुब्नै लागेपछि ओपीडी शुल्क नबढाई सुखै भएन ।’