काठमाडौं-पचहत्तरै जिल्लामा रहेका कृषि विकास कार्यालयहरु यही पुस महिनाभित्र पूर्णरुपमा बन्द हुने भएका छन् । कृषि कार्यालयहरु बन्द भएपछि ति कार्यालयबाट हुँदै आएका काम अब स्थानीय तहबाट हुनेछन् ।


ADVERTISEMENT


कृषि मन्त्रालयका सचिव डा. सुरोज पोख्रेलले जिल्ला कृषि कार्यालय बन्दको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । जिल्लामा रहेका कृषि सेवा केन्द्रहरु भने यसअघि नै बन्द भइसकेका छन् ।


ADVERTISEMENT

# # #


७५ वटै जिल्लामा कृषि कार्यालयहरु छन् । जिल्ला कार्यालय मातहत ४-६-४ को रेसियोमा सेवा केन्द्रहरु थिए । तराई मधेसका जिल्लाहरुमा ४, पहाडीमा ६ र हिमाली जिल्लाहरुमा ४ वटाका दरले रहेका सेवा कार्यालयहरु भने बन्द भइसकेका छन् । अब दोस्रो चरणमा जिल्ला कार्यालयहरु बन्दको तयारी भइरहेको छ ।

कृषि मन्त्रालयका सूचना अधिकृत मणिरत्न अर्यालले भने, ‘फस्ट टर्नमा सेवा कार्यालयहरु ह्याण्डओभर भए, अब सेकेन्ड टर्नमा जिल्ला कार्यालयहरु क्लोज हुने अन्तिम तयारी छ ।’

जिल्ला कार्यालय र सेवा कार्यालयहरुमा २२ देखि ४५ जनासम्म कर्मचारीहरु थिए । तर हाल एकजना कार्यालय प्रमुख, एकजना अधिकृत, एकजना योजना अधिकृत र कार्यालय प्रमुखका लागि एकजना चालकमात्र छन् । ‘आफ्ना कामहरु स्थानीय तहलाई ह्याण्डओभर गर्नका लागि ४-५ जनाको मात्र जनशक्ति छ । त्यो काम सकिएपछि उहाँहरुको पनि अन्यत्रै व्यवस्थापन हुन्छ,’ अर्यालले भने ।

बन्द भएका कार्यालयका जनशक्ति व्यवस्थापनको अन्तिम खाका तयार हुन बाँकी छ । तर कृषि कार्यालयका अधिकांश प्राविधिक जनशक्तिलाई प्रदेशमा र स्थानीय तहमा व्यवस्थापन गर्ने योजना बनाइएको छ ।

महानगरपालिकामा उपसचिव र नगरपालिकामा अधिकृतको नेतृत्वको टोली रहने गरी व्यवस्थापन गर्ने प्रारम्भिक प्रस्ताव तयार भएको अर्यालले जानकारी दिए ।

उनले भने, ‘जहाँ प्रदेश कार्यालय रहन्छ त्यहाँ जिल्ला कार्यालय जान सक्छन् । संघमा के-के कार्यालय रहन्छ, जिल्ला कुन संरचनामा रहन्छ भन्ने कुरा ड्राफ्ट भइरहेको छ, निर्क्योल भइसकेपछि त्यसैअनुसार जनशक्तिको व्यवस्थापन गरिन्छ ।’