काठमाडौं-वीरगञ्जस्थित सुपर ग्यास प्लान्टमा भीषण आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहान ६ बजेदेखि सुरु भएको आगलागीमा परी दुईजनाको मृत्यु भएको हो । यद्यपि मानवीय क्षतिको प्रहरीले पुष्टि गरिसकेको छैन ।


ADVERTISEMENT


वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख शेरबहादुर कार्कीले आगो निभाउन गएका आफ्ना दुई कर्मचारीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार यादवप्रसाद अधिकारी र मधुसुधन मिश्रको आगलागीमा ज्यान गएको हो।


ADVERTISEMENT

# # #


दमकलकै अन्य दुई कर्मचारी घाइते भएका छन् । घाइते अरुणकुमार महतो र सञ्जीव नेपाललाई स्थानीय वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । आगो निभाउन गएको दमकल जलेर ध्वस्त भएको छ ।

आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र भारत सरकारको अर्को एक दमकल भीषण आगलागीका कारण घटनास्थल जान सकेका छैनन् ।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पुगे पनि आगोका कारण उनीहरू पनि दुई किलोमिटर वर नै रोकिएका छन् । ग्यास भण्डारण भएको स्थलमा आगो बलिरहेकाले पानीले पनि आगो निभाउन नसकिएको वीरगञ्ज वारुण यन्त्रमा निमित्त प्रमुख कार्कीले बताए । घटना हुँदा ग्यास प्लान्टमा कति मानिस थिए खुल्न सकेको छैन ।