काठमाडौं-नापी विभागले छिमेकी भारत र चीनको भूमिलाई आधार बनाएर सगरमाथाको उचाइ मापन सुरु गरेको छ । भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस), ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।


ADVERTISEMENT


विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७० वर्षपछि नेपालले मापन थालेको हो । सगरमाथाको उचाइ अन्य देशले मापन गरे पनि नेपालले पहिलो पटक मापन सुुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक भट्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मंसिर २५ र २६ मा अमेरिका, जपान, भारत, चीन, स्विजरल्यान्ड, इटाली र न्युजिल्यान्डका विज्ञसँग छलफल गर्दा आएको सुझावका आधारमा उचाइ मापन कार्य अघि बढाइएको विभागले जनाएको छ । छलफलमा दुई पटक उचाइ मापनमा प्रत्यक्ष संलग्न भएका इटालीका प्रोफेसर जीओरजीओ पोरेट्टी र अमेरिकाका प्रोफेसर रोगर विल्हाम समेत सहभागी थिए ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मापन कार्य गर्न ५० किलोमिटर टाढाको भारतीय भूमिबाट समुद्री सतहको आधार लिइनेछ । ८० प्राविधिक प्रत्यक्ष खट्ने भए पनि विश्वव्यापी मान्यता दिलाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र अनुभवी सगरमाथा आरोहीको सहभागिता जुटाइनेछ । मापनका लागि करिब २५ करोड बजेट खर्च लाग्ने अनुमान गरिएको छ । भौगोलिक संरचना, भूकम्प र जलवायु परिवर्तनले हिउँ पग्लँदा उचाइ तल–माथि भएको हुन सक्ने अनुमान गरिएको छ । विभागले नापजाँच गरी यकिन उचाइ सरकारलाई उपलब्ध गराएपछि यसैलाई आधिकारिक बनाइनेछ।

भारतले सगरमाथालाई सुरुमा पिक १५ को नाम दिएको थियो । सन् १८४७ मा पहिचान भएपछि सर्भे अफ इन्डियाले मापन गरेपछि यसको उचाइ ८७७८ मिटर रहँदा विश्वकै अग्लो शिखरका रूपमा कायम भएर यसको नाम एभरेष्ट राखिएको थियो । उचाइ मापन मात्र नभएर सगरमाथामुनि समुद्रको स्वरूप कस्तो छ भन्ने वैज्ञानिक अध्ययनसमेत गरिनेछ ।

उचाइ मापनका लागि सिरहाको मिर्चैया र नजिकको भारतको सीमाबाट उचाइ मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको टाक्सिन्दु, पिके, सोलुङ र छुल्यामुसम्मका १२ वटा विन्दुलाई जिपिएस सर्भे गरिनेछ ।

सगरमाथालाई सन् १९४९/१८५० मा सर्भे अफ इन्डियाले नै मापन गर्दा ८८४० मिटर निर्धारण भएको थियो। सन् १९५४ मा एसओआईका विएल गुलाटीले मापन गर्दा ८८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्युरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा ८८४८.४३ मिटर कायम भएको दाबी गरेको थियो ।

सन् १९९९ मा बुस्टोन म्युजिएम अफ साइन्स युनाइटेड स्टेटका प्रोफेसर व्रड बास्र्बनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गर्दा ८८५० मिटर रहेको तथ्य सार्वजनिक भएको थियो । तर, नेपाल सरकारले भने आईएसओले मापन गरेको ८८४८ मिटरलाई हालसम्म आधिकारिक उचाइ मान्दै आएको छ ।