काठमाडौं-प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले जनप्रतिनिधि पाए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीको दूरी भने ह्वात्तै बढाइदिएको छ । एमालेले निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेलगत्तै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि माओवादी केन्द्रसँग थप नजिकिएका ओली र देउवाबीच गत ५ मंसिरयता एकपटक पनि संवाद भएको छैन ।


ADVERTISEMENT


प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रिय सभा निर्वाचनलाई लिएर फरक धारणा राख्दै आएका यी दुई नेताका चुनावी प्रचारसमेत आरोप प्रत्यारोपमै बित्यो । देउवाले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्ने ओली अडान र राष्ट्रिय सभा निर्वाचन नगरी सत्ता हस्तान्तरण नगर्ने देउवा अडानका कारण पछिल्ला दिन यी दुई नेताबीचको दूरी झन बढेको छ ।


ADVERTISEMENT

# # #


सरकार राष्ट्रिय सभा निर्वाचनको कानुनी जटिलता फुकाएर निर्वाचन सम्पन्न भएपछि मात्रै संवैधानिक व्यवस्थाअनुसार सत्ता हस्तान्तरण गर्ने तयारीमा छ । तर, एमाले र माओवादी केन्द्र भने देउवालाई आफूहरूको सहमतिबिना अध्यादेश ल्याउने अधिकार नभएको बताइरहेका छन् ।

प्रदेश प्रमुख नियुक्ति र राष्ट्रिय सभा निर्वाचन अध्यादेशका विषयमा पछिल्लो समय सरकारले संवैधानिक बाटोअनुसार अघि बढेको बताउँदै आएको छ । स्थानीय तहको निर्वाचन हुँदा आमनेसामने भएका उनीहरू प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको संघारदेखि नै दूरीमा रहँदै आएका छन् ।

गत ५ मंसिरमा बालुवाटारमा प्रधानमन्त्री देउवा र ओलीबीच औपचारिक संवाद भएको थियो भने त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीका लागि लाजिम्पाटमा देउवा–ओलबीच भेटघाट भएको थियो । सो भेटमा भने दुवै नेताबीच संवाद भएन ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच गत मंसिरमा बालुवाटारमा भेटघाट भएको बताए । उनले त्यसयता प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको भेट नभएको बताए । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जली सभामा लाजिम्पाटमा भेट भएको तर औपचारिक संवाद नभएको बताए ।

यस बीचमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भने भेटघाट र संवाद भएको छ । प्रधानमन्त्री देउवाले केही दिनअघि मात्रै माओवादी अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर पछिल्लो राजनीतिक घटनाक्रमबारे संवाद गरेका थिए ।

प्रधानमन्त्री देउवाले सो भेटमा राष्ट्रिय सभा निर्वाचनका लागि संवैधानिक बाटोबाट नै सरकारले राष्ट्रपतिसामु अध्यादेश स्वीकृतिका लागि पठाएको र सो स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनको कानुनी बाटो फुकाएर सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका थिए ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल मुलुक रिक्तता र तिक्तताको अवस्थामा रहेकाले यस्तो अवस्थामा दूरी बढ्दा कसैलाई फाइदा नहुने बताउँछन् । सत्तामा रहेका र प्रतिपक्षमा रहेका दुई ठूला नेताबीच संवादको आवश्यकता रहेको राजधानीले लेखेको छ ।

‘मुलुक रिक्तता र तिक्तताको अवस्थाबाट अघि बढिरहेको छ, यस्तो अवस्थामा सत्तामा रहेका र प्रतिपक्षमा रहेका दुई ठूला नेताबीच झनै संवादको आवश्यकता पर्छ, नियमित संवाद हुनुपर्छ,’ दाहालले भने ।