काठमाडौं – काठमाडौंका विभिन्न क्षेत्रमा आजदेखि आठ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् लाइन विस्तार तथा व्यवस्थापनको काम अघि बढाएसँगै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् कटौती गर्न लागेको हो ।


ADVERTISEMENT

#


प्राधिकरणका अनुसार कात्तिक १३ देखि २० गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

निर्धारित तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।


ADVERTISEMENT

#
#


त्यस्तै, १४ गते कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १५ गते कलंकी चोकदेखि ढुंगेअड्डासम्म तथा १६ गते पुनः कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती गरिनेछ ।

यसैगरी, १७ गते शंखमुल फिडरअन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म, १८ र २० गते धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा र १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाजमा पुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

भूमिगत विद्युत् लाइन विस्तारको कामका कारण विद्युत् कटौती गर्नुपर्ने भएकाले प्राधिकरणले उपभोक्तालाई पूर्वतयारी गर्न आग्रह गरेको छ ।

यद्यपि, मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने प्राधिकरणले स्पष्ट पारेको छ ।