वर्तमान समयमा अधिकांश व्यक्तिहरु आफ्नो स्वास्थ्यबारे सजग हुन थालेको देखिन्छ जसकारण पनि उनीहरु आफूले खाने खाना तथा आफ्नो शारीरिक तौलप्रति विशेष ध्यान दिने गर्छन् यसैक्रममा पछिल्लो पटक नेपाली समाजमा फस्टाएको अवधारणा हो इन्टरमिटेन फास्टिङ’


ADVERTISEMENT


‘इन्टरमिटेन फास्टिङ’को थुप्रै विशेषता भएको यसबाट व्यक्तिले लाभ पनि प्राप्त गर्न सक्ने पोषणविद् कामना आचार्य बताउँछिन् तर, सबैको हकमा भने यो प्रभावकारी नहुने कतिपयलाई यसले हानी समेत पुर्याउन सक्ने जोखिम रहने उनको भनाई उसोभए इन्टरमिटेन फास्टिङ कसका लागि उपयुक्त हुन्छ ? यसका फाइदाहरु के–के हुन् यसलाई प्रभावकारी बनाउन कस्ता पक्षमा ध्यान दिने त ? यसै सन्दर्भमा पोषणविद् आचार्यसंग गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT

# # #


सर्वप्रथम इन्टरमिटेन फास्टिङ भनेको के हो बताइदिनुस् न ।

‘इन्टरमिटेन फास्टिङ’ भन्ने बित्तिकै अधिकांशले शरीरको तौल कम गर्नका लागि गरिने ‘डाइट’ भनेर बुझ्नुहुन्छ । तर, यसअन्तर्गतगत व्यक्तिको खानपिनका लागि निश्चित समयतालिका तोकिने भएकाले ‘इन्टरमिटेन फास्टिङ’लाई ‘डाइट’भन्दा पनि हाम्रो जीवनशैली भनेर बुझ्दा अझ बढि उपयुक्त हुन्छ ।

अर्थात्, सरल रुपमा भन्नुपर्दा, व्यक्तिले कुन समयमा खाली पेट(उपवास) बस्ने र कुन समयमा कति अनि कसरी खाना खाने ? भनेर उचित समयतालिका तथा मापदण्डलाई अवलम्बन गर्नु नै ‘इन्टरमिटेन फास्टिङ’ हो ।

यसले शरीरलाई कसरी फाइदा गर्छ त ?

पछिल्लो समय खासगरि शरीरको वजन कम गर्नका लागि यो अवधारणा प्रचलित भएको पाइन्छ । किनकी ‘इन्टरमिटेन फास्टिङ’को मुख्य अवधारणा भनेको शरीरका निम्ति आवश्यक ऊर्जा प्रदान गर्ने खाद्य पदार्थ तथा आहार सेवन गरेर अन्य अतिरिक्त अस्वस्थ्य खानाहरुलाई बाहिष्कार गर्नु हो ।

शरीरलाई चलायमान राख्नका निम्ति प्रोटिन, फ्याट र कार्वनको आवश्यकता पर्छ । तसर्थ जब हामी शरीरका निम्ति आवश्यक खाना मात्रै उपभोग गर्छाै तब हाम्रो शरीरले पनि ऊर्जाका लागि आवश्यक फ्याट स्टोरको प्रयोग गर्छ । जसबाट शरीरमा अतिरिक्त फ्याट स्टोर हुनबाट जोगी व्यक्तिको तौल नियन्त्रणमा सघाउ पुग्छ ।

र, तौल नियन्त्रणले व्यक्तिमा सुगर प्रेसरजस्ता दीर्घरोगको मात्रालाई न्यून गराउँछ भन्ने कुरामा कुनै दुईमत देखिदैन । यसर्थ इन्टरमिटेन फास्टिङलाई दिगो रुपमा अवलम्बन गर्न सकिएको खण्डमा यसबाट लाभ लिन सकिने विज्ञानले समेत तथ्य पुष्टि गरिसकेको छ ।

तर, इन्टरमिटेन फास्टिङले सबै व्यक्तिलाई एकै समय समान रुपमा प्रभाव पारेको पनि देखिदैन नि ! यस्तो किन हुन्छ ?

सामान्यतयाः ३–४ हप्तादेखि नै व्यक्तिमा यसको प्रभाव देखिन थाल्छ तर केहीमा भने लामो समयसम्म पनि यसको केही असर देखिदैन ।

यस सन्दर्भमा यहाँनेर हामीले के बुझ्नुपर्छ भने, प्रत्येक व्यक्तिको शारीरिक संरचना एकै किसिमको हुँदैन । यसका निम्ति व्यक्तिको आणुवंशिक पक्षसंगै अन्य तत्वहरुले पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ । जसकारण पनि सबै व्यक्तिमा नतिजा एकैप्रकारले देखिदैँन ।

यसबाहेक कतिपय व्यक्तिहरुले इन्टरमिटेन फास्टिङको दौरान गर्ने गल्तीहरुका कारणले गर्दा पनि सोचेजस्तो परिणाम प्राप्त गर्न सक्दैनन् ।

उसोभए इन्टरमिटेन फास्टिङको दौरान गरिने सबैभन्दा गल्ती के हुन् त ?  यसलाई प्रभावकारी बनाउन कस्ता पक्षमा ध्याने दिने ?

सामान्यतयाः अधिकांश व्यक्तिहरुमा मुख्यगरी: कार्वन, प्रोटिन र फ्याटले शरीरको वजन बढाउँछ भन्ने भ्रम व्याप्त रहेको पाइन्छ । जसकारण पनि व्यक्तिहरु यी तत्व पाइने खाद्यबाट टाढै रहने गर्छन् । तर, शरीर भनेको इन्धनबाट चल्ने गाडीजस्तै हो । र, यसलाई चलायमान राख्नका लागि शरीरलाई आवश्यक ऊर्जा ती तीन तत्वबाटै प्राप्त हुन्छ । तसर्थ लामो समय भोकै बसेर मात्रैआफ्नो तौल घटाउँछु भन्ने गल्ती गर्नुहुँदैन । अन्यथा यसले शरीरमा अन्य समस्या निम्त्याउने सम्भावना प्रबल रहन्छ ।

इन्टरमिटेन फास्टिङमा सबैभन्दा महत्वपूर्ण रहेको अर्काे पक्ष भनेको आफ्नो शारीरिक बनावटलाई ध्यान दिनु हो । अर्थात्, इन्टरमिटेन फास्टिङको मुख्य उद्देश्य भनेको तौल घटाउनु मात्र नभई आफू फिट रहनु पनि हो ।

यस समयमा लामो समयसम्म भोकै बसेर आफ्नै शरीरलाई यातना दिइरहेका हुन्छन् । यसले व्यक्तिको शरीरलाई फिट राख्नुको साटो झन् चिडचिडापन हुने, निन्द्रामा समस्या देखिने तथा कमजोर बनाउनेजस्ता अन्य समस्याहरु निम्त्याउने सम्भावना उच्च गराउँछ ।

यस्तै अन्य केही समूहहरु यस्ता पनि हुन्छन्, जो फास्टिङको समय केही नखाई बस्ने र सो अवधि सकिने बित्तिकै आफूलाई मनलागेको खानेकुराहरु पेटभरि खाने गर्छन् । जुन विल्कुल गलत हो । किनकी व्यक्तिका यस्ता गतिविधिले पेटमा जम्मा भइराखेका फ्याटहरु नघटी उल्टै यसले शरीरलाई नोक्सान गराउँछ ।

तसर्थ यस दौरान व्यक्तिले आफूलाई कुन खानाले फाइदा गर्छ र कुनले गर्दैन ? भन्ने पक्षलाई मध्यनजर गर्दै अनुशासित रुपमा यसका मापदण्डहरुलाई अवलम्बन गरेको खण्डमा यसले पक्कैपनि राम्रो नतिजा दिन मद्दत गर्छ । यसका लागि व्यक्तिले जंकफूड तथा रेडिमेड पेय पदार्थबाट टाढै रहदै, स्वस्थ्य जीवनशैली अपनाएर अनुशासित रुपमा यसका मापदण्डहरु अवलम्बन गर्नुपर्छ ।

यससंगै केही समूहले भने आफूलाई अनुकुल समय उपवास बस्ने र बीचमै छोड्ने पनि गर्छन् । जुन विल्कुल गलत हो । लामो समयसम्म यसो गर्नाले शरीरले डाइटलाई समेत पचाउने त्यसबाट कुनैपनि किसिमको फाइदा प्राप्त गर्न सकिदैन । यसबाहेक तौल नियन्त्रणका लागि फास्टिङसंगै शारीरिक व्यायाम पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि हामीले बिर्सिनु हुँदैन ।

इन्टरमिटेन फास्टिङ के सबैका निम्ति लाभदायिक रहन्छ ?

होइन । फास्टिङको अवधारणाले सबैलाई लाभ हुन्छ नै भन्ने हुँदैन । सबैको हकमा फास्टिङ बसेर तौल कम गर्न खोज्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिदैँन ।

मैले अघि भनेजस्तै, लामो समयसम्म खाली पेट बस्दा  कतिपयलाई ग्यासट्राईटिसले सताउने या कोहिलाई एकदमै रीस उठ्ने या चिड्चिडापन हुने समस्या देखिन्छ । त्यस्ता केही समूह छन्, जसलाई उपवासले फाइदा त गर्दैन नै, संगै यसका कारण शरीरमा अन्य गम्भीर समस्या निम्तिने जटिलतासमेत उत्पन्न गराउन सक्छ ।

तसर्थ ती समूहले भने यसको विकल्पमा हामीले खाने खानाको मात्रालाई मिलाएर ठिक्क मात्रामा उपभोग गर्न सकेमा मात्रै पनि उचित रुपमा तौल नियन्त्रण गर्न सकिन्छ ।

उसोभए उपवास कस्ता समूहका लागि हानिकारक हुन्छ त ?

खासगरी गर्भवती महिलाका निम्ति कुनैपनि उपवास जोखिमपूर्ण रहन्छ । यस्तै, स्तनपान गराइरहेका आमाहरुको सन्दर्भमा पनि यस्ता उपवासले आमाशिशु दुवैको स्वास्थ्यमा नकरात्मक असर गर्ने सम्भावना उच्च रहन्छ ।

यस्तै, इन्टरमिटेन फास्टिङमा उमेर हद पनि निश्चित रहेको हुन्छ । जसअन्तर्गत १८ वर्षभन्दा मुनिका समूहले यो विधि अपनाउनु हानिकारक मानिन्छ । यसबाहेक बहु–रोगबाट शिकार भएका (दुई वा सोभन्दा रोग लागेका व्यक्ति । जस्तैः सुगरसंगै प्रेसर पनि भएका बिरामी), मालन्यूट्रेशन(कुपोषण), अन्डरवेट (आवश्यकभन्दा कम वजन भएका) तथा सुगरको मात्रा घटबढ भइरहने वा नियन्त्रण गर्न नसकेका लगायतका समूहहरुको निम्ति पनि उपवास हानिकारक हुन्छ ।

तर, इन्सुलिनको प्रयोग गरिरहेका मधुमेहका बिरामीको हकमा भने उचित तौलका लागि यो विकल्प अपनाउन सकेपनि त्यस्ता व्यक्तिहरुलेआफू उपवास बस्नुपूर्व अनिवार्य रुपमा सम्बन्धित चिकित्सक वा विज्ञको सल्लाह लिनुपर्छ ।

इन्टरमिटेन फास्टिङ कसरी कुन–कुन तरिकाबाट बस्न सकिन्छ ? भन्नेबारे अलिकति बताईदिनुस् न !

इन्टरमिटेन फास्टिङका थुप्रै प्रकारहरु रहेका छन् । अहिले सबैभन्दा बढी प्रचलनमा रहेको इन्टरमिटेन फास्टिङ भनेको १६:८ फास्टिङ हो । जसमा व्यक्तिले १६ घन्टा उपवास बसी बाँकी ८ घन्टा भने स्वस्थ खानाहरु खानुपर्ने हुन्छ ।

यस्तै, अर्काे भनेको प्रकार भनेको ५ः२ हो । यसअन्तर्गत भने साताको ५ दिन सामान्य खाना खाने र बाँकी दुई दिन पुरुषको हकमा ६०० र महिलाको हकमा ५०० क्यालोरी खाना खाएर फास्टिङ गर्न सकिन्छ ।  यसबाहेक यसैअन्तर्गत ५ दिन सामान्य खाना उपभोग गरी बाँकी दुई दिन भने जिरो क्यालोरीमा बसी व्रत पनि बस्न सकिन्छ ।

यसैगरी अर्काे अवधारणा ‘अल्टरनेट डेज् फास्टिङ’ मार्फत पनि आफ्नो तौल नियन्त्रण गर्न सकिन्छ । ‘अल्टरनेट डेज् फास्टिङ’ विभिन्न तरिकाबाट गर्न सकिएता पनि सामान्यतयाः यसअन्तर्गत व्यक्तिले एक दिन सामान्य खाना खाने अर्काे दिन भने ५००–६०० क्यालोरीको खाना मात्रै उपभोग गरेर पनि गर्न सकिन्छ ।

र, अन्त्यमा इन्टरमिटेन फास्टिङ विधि अपनाउन लागेका व्यक्तिहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

समग्रमा भन्नुपर्दा इन्टरमिटेन फास्टिङ तौल नियन्त्रण राख्न अपनाइने विधि हो । यसका विभिन्न प्रकारहरु छन् । यद्यपि यसबीच हामीले के कुरामा ध्यान दिनुपर्छ भने, तीमध्येका सबै प्रकारहरु प्रत्येक व्यक्तिमा लाभदायी हुन्छ भन्ने हुँदैन । कसैको हकमा  १६ः८ विधि प्रभावकारी रहन्छ भने कसैलाई १ः१ ले बढी फाइदा गर्न सक्छ ।

यससंगै सबै व्यक्तिले इन्टरमिटेन फास्टिङ गर्न मिल्छ भन्ने हुँदैन । कतिपयलाई यसले अपेक्षा विपरित बेफाइदा गर्ने र हानी पुर्‍याउने सम्भावना पनि उत्तिकै रहन्छ । जसका लागि व्यक्तिको शारीरिक संरचना, स्वास्थ्य अवस्था, उमेर तथा आणुवंशिक पक्षहरु जिम्मेवार रहन्छन् ।

तसर्थ प्रत्येक व्यक्तिले आफ्नो शरीर इन्टरमिटेन फास्टिङका लागि उपयुक्त छ कि छैन वा कुन प्रकारको फास्टिङ आफ्नो निम्ति प्रभावकारी रहन्छ भन्ने विषयमा कुनैपनि फास्टिङ बस्नुपूर्व अनिवार्य रुपमा सम्बन्धित विज्ञसंग परामर्श लिनु उपयुक्त रहन्छ ।