काठमाडौँ– इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नक्सालस्थित मेरिएट होटलमा आयोजित भव्य घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेशनल एप मार्फत आवेदन दिन सक्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा १८ बर्ष माथिका व्यक्तिले आवेदन दिन सक्नेछन् । शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्छन् ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्ने छन् । प्राथमिक छनौट प्रक्रिया पछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ । यी दुबै शोहरुको आवेदन दिने मिति जनवरी को अन्तिम तारिक तोकिएको छ ।

कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै मेरो डान्स यूनिभर्स ’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यसअघि नै नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस् जस्ता धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् ।

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले रु एक करोड पाउनेछन् । साथै फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि रु एक करोड पुरस्कार पाउनेछन् । भने फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख पुरस्कार पाउनेछन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो । यसले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्दै आएको छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा जोड दिदैँ आएको छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरू लक्षित कार्य गर्दै आएको छ ।

हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ भने संस्थाले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ ।