प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुनसक्ने बताएका छन् । प्रधानमन्त्री भएलगत्तै भारतीय मिडिया एबीपी न्युज नेकवर्कलाई दिएको अन्तर्वार्तामा प्रचण्डले चाँडै भारत भ्रमण गर्नसक्ने संकेत गरेका हुन् । साथै उनले भारतसँग केही समस्या छन् भने त्यसलाई वार्ता र गम्भीर संवादका आधारमा दुवै देश मिलेर समाधान गर्ने बताएका छन् । प्रस्तुत छ उक्त अन्तर्वार्ताको भाषानुवाद :


ADVERTISEMENT


पछिल्लो ३२ वर्षमा नेपालमा ३३ सरकार आए, १६ वर्षमा १३ प्रधानमन्त्री बने भने यसपटक तपाई आफैँ बन्नुभएको छ । पूरा कार्यकाल अवधिभर रहनुहुन्छ भन्ने के ग्यारेन्टी छ ? यसलाई कसरी लिनुहुन्छ ?


ADVERTISEMENT

# # #


तपाई जे भनिरहनु भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको विकासक्रममा हाम्रो विशेषता नै भन्नुपर्छ, हाम्रो केही मौलिकताहरु पनि छन् । पार्टीबीच विवाद, बहस र संघर्षको परिस्थिति पनि छ र संगै एकता र रुपान्तरणको एक आफ्नै किसिमको चरित्र पनि छ । तसर्थ धेरै उतारचढाव त छन् । तर, यहाँ एकरुपता र तालमेल पनि छ ।

मलाई लाग्छ, नेपालमा अन्तिम पटक भएको निर्वाचनको मतपरिणाम जुन थियो, सोबमोजिम नै यसपटक म प्रधानमन्त्री बनेको छु । अहिलेको सरकार बनेको छ । विभिन्न विचारधारा राजनीतिक एजेण्डा, राजनीति पार्टी तथा व्यक्तिबीच जनताले सबै मिलेर काम गर्ने चाहना राखेअनुरुप यो सरकार बनेको छ । र, अन्य नयाँ तथा केही पार्टीमा नयाँ गरेर देखाउने जुन हुटहुटी छ त्यो समूह पनि मेरो साथमा छन् । संगै लामो राजनीतिक संघर्षका जीवन बिताएका तथा अनुभवी पार्टीको पनि मलाई समर्थन छ । यसैकारण पनि मेरो कार्यकाल पूरा समय चल्ने मेरो विश्वास छ ।

तपाईले भने जस्तै रवी लामिछानेको नयाँ पार्टी सरकारमा आएको छ । जसले वामपन्थी नेताहरुको कार्य र उनीहरुको भ्रष्टाचारलाई नियन्त्रण गर्छौं भनेका छन् । यस्तै, राजतन्त्रको एजेण्डा बोकेको राप्रपाको समर्थन पनि तपाईंलाई नै छ, जुन प्रणालीविरुद्ध तपाईं लड्नुभयो । यस्तो अवस्थामा कसरी समन्वय गरेर अघि बढ्नुहुन्छ ? अब के सुरु हुनेवाला छ ?

मैले अघि मात्रै पनि भनेँ कि पार्टीहरुको आ–आफ्नै विचारहरु र राजनीतिक एजेण्डाहरु पनि छन् । तर, आजका दिन हामी सबै पार्टी एकसाथ जोडिएका छाैँ भने त्यसको आधार भनेकै संविधान हो । आफ्नो जुनसुकै विचार होस् या राजनीतिक एजेण्डा संविधानको विषयमा हामी सबै एकसाथ यसैअनुरुप नै अघि बढ्ने र सोही अनुसार, नै कार्य गर्नुपर्छ । हामी संघीय लोकतान्त्रिक, गणतान्त्रिक समयमा छौँ । जहाँ समावेशी, समानुपातिक लोकन्त्र र गणतन्त्र चलिरहेको छ । त्यसलाई मजबुत गर्नुपर्छ र यसमा कुनै दुईमत छैन । यसकरण मैँले प्रधानमन्त्रीको रुपमा जुन कुरालाई अघि बढाइरहेको छु, यो संविधान कार्यान्वयन प्रक्रिया र संविधान परिमार्जन प्रक्रियाको लागि हो । तसर्थ कुनै दुई किसिमका धारणाहरु छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तपाईंलाई सबैभन्दा पहिले बधाई दिने नेता हुन् । यसर्थमा तपाई भारत–नेपालबीच कस्तो किसिमको सम्बन्ध चाहनुहुन्छ ?

जब म प्रधानमन्त्रीको रुपमा राष्ट्रपति निवासबाट बाहिरिदैँ थिए, मलाई सबैभन्दा पहिले भारतीय राजदूतको तर्फबाट बधाई आयो । सो विषयमा मैले उहाँलाई ‘तपाई नै मलाई सबैभन्दा पहिलाे बधाई दिने कुटनीतिज्ञ हुनुहुन्छ’ पनि भनेको थिएँ । त्यसलगत्तै बधाई ज्ञापन गर्दै नेपाल–भारत सम्बन्ध मजबुत गर्ने अपेक्षाका साथ प्रधानमन्त्री मोदीको ट्विट आयो । यस हिसाबमा पनि उहाँ मलाई बधाई दिने पहिलो प्रधानमन्त्री हो । र, यसलाई संयोग नै भन्नुपर्छ म आफ्नो पहिलो अन्तर्वर्ता पनि भारतीय पत्रकार तपाईलाई दिदैँछु । यस विषयमा म एकदमै खुशी र गौरन्वित पनि छु ।

मलाई लाग्छ, पछिल्लो समय म जब भारत भ्रमणमा थिएँ, त्यसबेला विशाल हृदय र खुला विचारले हामीबीच धेरै विषयमा कुराकानी भएको थियो । यस्तै, नेपाल–भारत सम्बन्धलाई अघि बढाउने सन्दर्भमा ‘दुवै देशको ‘जेन्युन कन्सर्न’ (मुख्य चासो) लाई मिलेर सम्बोधन गर्नुपर्छ । र, हामी मिलेर गर्छाैं’, भन्ने किसिमको एकदम ठूलो प्रतिबद्धता त्यहाँ देखिएको थियो । तसर्थ मलाई लाग्छ आउँदो दिनमा म जुन तरिकाले भारतीय नेताहरुसंग नजिक छु, त्यसै विश्वासको साथ अघि बढिरहेको छु ।

नेपालको प्राकृतिक स्रोत सदुपयोगको सन्दर्भमा होस् या सीमा समस्या, आर्थिक समस्या, व्यापार–व्यवसायको विषय र बाँकी कैयौँ अन्य प्रोजेक्टहरु नेपाल–भारत मिलेर गर्नुपर्नेछ । यी सबैलाई सही दिनमा लैजाने मेरो प्रतिबद्वता छ । मलाई लाग्छ आउँदो दिनहरुमा नेपाल–भारतको हाम्रो इतिहास, भुगोल, संस्कृति सबमौ जुन विशिष्ट सम्बन्ध छ, त्यसलाई अझै मजबुत बनाउने तरिकाले अघि बढ्नेछौ ।

विगतका प्रधानमन्त्रीमध्ये ओली अलि तीखा स्वभावका थिए । उनले राम दक्षिण नेपालमा जन्मिएको भने । नक्सा परिवर्तन पनि भयो । भारतले नेपालको सरकार (आफू नेतृत्वको) गिराएको आरोप लगाए । त्यसलाई कसरी लिनुहुन्छ ?

अब त्यो इतिहास र विगत बनिसकेको छ । अब परिस्थिति नयाँ विश्वासको साथ विल्कुल नयाँ छ । कहीँ कतै समस्या छ भने हामी त्यसलाई संवाद र गम्भीर वार्तामार्फत समाधान गर्नसक्छौ र गरिरहेका पनि छौँ । त्यसैले अन्तिम पटक रहेको देउवाजीको सरकारको समयमा म पनि त्यो सरकारमा थिए र एकदम महत्वपूर्ण मन्त्रालय हाम्रो साथमा थियो । त्यसैले ऊर्जाजस्तो क्षेत्रमा एकदम विश्वासको वातावरण बनेको छ । अब हामी अगाडि बढिसकेका छौँ र आउने दिनहरुमा अझै अघि बढ्नेछौँ ।

एक नेपाली प्रधानमन्त्रीको सबैभन्दा ठूलो चुनौती भनेको भारतको समन्वयकर्ता बन्ने कि भारतको विरोधी हुने भन्नेबीचको एक रेखामा हिड्नु हो जस्तो तपाई लाग्दैन ?

शुरुदेखि नै मैँले के भन्दैछु भने म अब ‘प्रो–नेपाल’ वाला रेखामा जान चाहन्छु । अनि भारत र चीनजस्ता हाम्रो जति नि अन्तर्राष्ट्रिय मित्र अन्य मुलुकहरु छन्, उनीहरु सबैसंग राम्रो सम्बन्ध विस्तार गर्ने हाम्रो उद्देश्य रहेको छ ।

पहिले राजशाहीको समयमा कसैलाई प्रो–इंडियन कसैलाई प्रो–चाईजिन, कसैलाई प्रो–अमेरिकन भनेर नेपाली राजनीतिलाई विभाजित गरेर चलाउने एक गलत परम्परा थियो । तर, यो संघीय लोकतान्त्रिक, गणतन्त्र भएपश्चात् हामी भारतसंग हाम्रो जुन युनिक(विशेष) सम्बन्ध छ । हाम्रो सीमा, इतिहास, भाषा, संस्कृति, अर्थतन्त्र, व्यक्ति–व्यक्तिबीच जुन किसिमको सम्बन्ध छ, त्यो अन्य मुलुकमा संसारभर कतैपनि देखिदैँन ।

त्यसैले यसैअनुरुप पनि हामीले नेपाल–भारतबीचको सम्बन्धलाई अघि बढाउनुपर्नेछ । यस्तै, अन्य बाँकी मुलुकसंग पनि मित्रतापूर्ण सम्बन्ध स्थापित गराउनुपर्नेछ र नेपाली राजनीतिको नेपाली पार्टी र सरकार नेपाली जनता र राष्टको हितलाई प्राथमिकता दिदैँ त्यसप्रति बफादार र प्रतिबद्धता रहनुपर्नेछ । बाँकी भनेको अन्य मित्रको सहयोग जुटाएर नेपाली जनताको समृद्विको यात्रालाई अघि बढाउनुपर्नेछ । यहि नै हाम्रो रेखा हो ।

तपाईं सीधा र स्पष्टका साथ आफ्नो धारणाहरु व्यक्त गर्दै हुनुहुन्छ । तर, एक किसिमको अफवाह पनि सुनिदैँ आएको छ कि सबैले नेपाल एक प्रो–चाईना बन्दैछ र यो भारतलाई पछि हटाउने कार्य पनि हो भन्दैछन् नि ?

यो विल्कुल गलत हो । आजको दिनमा नेपालको राजनीति जुन तरिकाबाट अगाडि बढिरहेको छ , अब यहाँ कुनै पनि चाईना–प्रो, इंडिया–प्रो र अमेरिकन–प्रोको कुरा छैन । हामी सबैसंग मिलेर काम गर्छाैं र हामी यो व्यवहारमा साबित गरेर पनि देखाउँछौ ।

भर्खरै विश्वकप फुटबल पनि सकियो । अहिले नेपालको राजनीतिलाई त्यससँग तुलना गरिन्छ । कतिपयले देउवा एम्बाप्पे भए भनिरहेका छन् । राम्रा खेलाडी हुँदा पनि खेल हार्नुपर्यो भन्ने छ । यसलाई कसरी हेर्नुहुन्छ ?

अँ मैले यो सुनिरहेको छु । हाम्रो पनि यसबारे बातचित भइरहन्छ । फ्रान्स र अर्जैन्टिनाको जुन म्याच भएको थियो त्यसको अन्तिममा मेस्सीको जुन पेनाल्टी गोल भयो यहाँ पनि त्यस्तै पेनाल्टीजस्तै भयो भनेर भन्छन् । तर, तुलना भनेको सदैव सबै दुरुस्तै मिलेको त हुँदैन नि होइन र ?

एक पक्ष तपाईंको पहिलो भ्रमण या अन्य नै देशको गर्नुहुन्छ भन्ने विषयमा पनि कुरा गर्दैछन् नि ?

होइन । यस विषयमा भन्नुपर्दा मलाई सबैभन्दा पहिलो जहाँबाट निमन्त्रण आउँछ म त्यही नै जान्छु । मेरो भारतीय विदेशी सचिवसंग पनि कुरा भएको थियो । त्यसैले मेरो पहिलो भ्रमण भारतकै हुने सम्भावना बढी छ ।