काठमाडौं-पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सातै प्रदेशमा दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


देशका सात प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको जम्मा २२० सिटमा नेकपा (एमाले) र नेपाली काँग्रेसबीच तीन सिटको मात्रै फरक देखिएको छ । प्रत्यक्षतर्फ भने एमाले ठूलो सङ्ख्याले अगाडि छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको मतपरिणामअनुसार नेकपा (एमाले) ७५ र नेपाली काँग्रेसले ७२ सिट प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी, नेकपा माओवादी केन्द्रसहितका दलको समूहले ३५ सिट प्राप्त गरे भने सङ्घीय समाजवादी फोरम नेपाल १३ सिट र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विवेकशील पार्टीले बराबर अर्थात् तीन तीन सिट प्राप्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले प्रदेशसभामा समानुपातिक तर्फको २२० स्थानका लागि दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई अन्तिम रूप दिएको हो ।

समानुपातिकतर्फ प्रदेश १ मा ३७, प्रदेश २ मा ४३, प्रदेश ३ मा ४४, प्रदेश ४ मा २४, प्रदेश ५ मा ३५, प्रदेश ६ मा १६ र प्रदेश ७ मा २१ गरी २२० स्थानका लागि मतदान भएको थियो । आयोगमा रहेका समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले १ देखि ७ प्रदेशमा विभिन्न दलहरूले प्राप्त गरेको सिट सङ्ख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, न्यूनतम मतसीमा (थ्रेसहोल्ड) डेढ (१.५) प्रतिशतभन्दा बढी मत ल्याउने दलहरूको सङ्ख्या र न्यूनतम मतसीमा कटाउन नसक्ने दलहरूको विवरणसहितको प्रस्ताव आयोगमा प्रस्तुत हुँदा आयोगले स्वीकृति प्रदान गरेको हो ।

दलहरूले प्राप्त गरेको सिट सङ्ख्यालाई सम्बन्धित राजनीतिक दललाई उपलब्ध गराउने निर्णयसमेत आयोग बैठकले गरेको छ । आयोगको निर्णयलाई सचिव एवम् समानुपातिक निर्वाचन अधिकृत वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमार्फत शुक्रबार सार्वजनिक गरेका थिए ।

उनले यही पुस २ गते समानुपातिकतर्फको मत गणना सकिएको र परिणामहरू आयोगमा प्राप्त भएपछि प्रादेशिक स्तरमा तथ्याङ्क केन्द्रीकृत गरी सिट बाँडफाँट गरिएको बताए ।

राजनीतिक दलहरूले २०७४ कात्तिक २७ गते समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको उम्मेदवारहरूको संशोधित बन्द सूची अनुसार प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ५६५ जना उम्मेदवार कायम छन् ।