काठमाडौं-भारतीय नाकाबन्दीको समयमा पेट्रोल र डिजेल अभाव भएका बेला भित्रिएका इलेक्ट्रोनिक रिक्सा राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले अभियान थालेपछि इटहरीका सफारी चालकहरु आन्दोलित भएका छन् । ‘सीटी सफारी’ भनिने इ–रिक्सालाई राजमार्गबाट हटाउन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले बिहीबार इटहरीमा सर्वपक्षीय भेला गराएर यस्तो निर्णय सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


सरकारी अधिकारीहरुका अनुसार यातायात व्यवस्था विभागले मुख्य राजमार्गमा ब्याट्रीबाट चल्ने सीटी सफारीहरु गुड्न नदिनू भन्ने सर्कुलर पठाएपछि इटहरीबाट ई–रिक्सा हटाउने अभियान सुरु गरिएको हो । सफारी हटाउने सर्वपक्षीय छलफलमा यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका, नागरिक समाज र राजनीतिक दलहरुका प्रतिनिधिहरु सहभागी थिए ।


ADVERTISEMENT

# # #


सफारीले दुर्घटना बढाएको र धेरै चालकहरुसँग अनुमतिपत्र पनि नभएको निश्कर्ष निकाल्दै यस्तो निर्णय भएको हो । सर्वपक्षीय भेलामा सफारीले दुर्घटना बढाएको र एक बर्षमा १९ जना सफारी चालकहरु कारागार चलान भएको तथ्य प्रस्तुत गरिएको थियो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी राजकुमार लम्सालले सफारी हटाउन बिषेश पहल सुरु गरिएको जानकारी दिए ।

चालकले राजमार्ग अवरोध गरेपछि प्रहरी हस्तक्षेप

शुक्रबारदेखि लागु हुने गरी गरिएको निर्णयको विरोधमा सफारी चालकहरुले बिहीबारदेखि नै इटहरीको सडकमा सफारी तेस्र्याएर बिरोध जनाएका छन् । शुक्रबार पनि जारी बिरोधमा भने प्रहरीले बल प्रयोग गरेर सफारी चालकहरुको जामलाई हटाएको छ । इटहरीको मुख्य चौकमा सफारी चालकहरुको अवरोध हटाउन प्रहरीले ६ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।

प्रदर्शनकारीका नेता गणेश कार्कीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको इलाका प्रहरी इटहरीका डीएसपी सञ्जय राउतले जानकारी दिए । सडकमा एम्बुलेन्स चल्नसमेत नदिइएपछि प्रदर्शनकारीलाई हटाउन सामान्य बल प्रयोग गरिएको राउतले बताए ।

चालक भन्छन्– बजाजका अटो हाल्न सफारी हटाइएको हो

राजमार्गमा दुर्घटना गराएको र धेरै सफारी चालकहरुको लाइसेन्स नभएको भन्दै सफारी निशेध गर्नुमा बजाजको अटो हाल्ने षडयन्त्रले काम गरेको सफारी चालकहरुको आरोप छ ।

‘दुर्घटना त मोटरसाइकलले पनि गर्छन् । धेरै मोटरसाइकलहरु पनि लाइसेन्सबिनै कुदेका छन्’, इटहरीका सफारी चालक बिमल राई भन्छन्, ‘तर सफारीलाई मात्रै नियोजितरुपमा हटाइएको छ, यो सबै भारतीय कम्पनी (बजाज) का नयाँ तीन पांग्रे सवारी हाल्न चालिएको कदम हो ।’

चालक अधिकारीले नाकाबन्दीका बेलामा सहजरुपमा सडकमा चल्न दिइएका सफारीलाई आर्थिक चलखेलका आधारमा आयात र दर्तामा कुनै कडा नगरिएको बताए । बजाजका साढे पाँच लाखको दाममा खुद्रा मुल्यमा पाइने अटो हुल्नलाई तीन लाखमै आउने सफारीहरु हटाउन लागिएको चालकहरुको अरोप छ ।

‘पहिले पनि जथाभावी सफारी सडकमा गुडाउन आर्थिक चलखेल नै भएको थियो’, आफूले पैसा खुवाएरै सफारी दर्ता गराएको बताउने चालक दिनेश चौधरी भन्छन, ‘अब सफारी हटाएर बजाजका अटो बेच्नलाई यसो गरिएको हो ।’

सस्ता विद्युतीय सफारीका कारण महंगो डिजलबाट चल्ने बजाज अटोको व्यापार सुकेपछि यस्तो निर्णय गरिएको चालकहरुको आरोप छ । नाकाबन्दीका बेला ‘सञ्जीवनी’ बनेका विद्युतीय सफारीहरु हटाएर डिजेल पेट्रोलबाट चल्ने तीन पांग्रे हाल्न राम्रो नभएको सफारी चालकहरुको तर्क छ ।

लाइसेन्स समयमा नखुलाएका कारण धेरै सफारी चालकहरुको लाइसेन्स नभएको सफारी चालक धनबहादुर कार्की बताउँछन् । उनी भन्छन्– ‘लाइसेन्स नभएकालाई मात्रै कुदाउन नदिएर भएकालाई चाहिँ दिनुपर्नेमा राजमार्गमा सबै सफारी निषेध गर्नुमा बजाजको अटो हाल्ने मनसाय नै देखिन्छ ।’

विभागको निर्देशन पालना गरेका हौं– ट्राफिक

यता पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी राजकुमार लम्साल भने आफूहरुले यातायात व्यवस्था विभागको निर्णय कार्यान्वयन गरेको बताउँछन् ।

‘यातायता व्यवस्था विभागले दिएको विद्युतीय रिक्सालाई राजमार्गका मुख्य सडकमा कुद्न नदिने निर्देशन बमोजिम यस्तो गरिएको हो’, एसपी लम्सालले टेलिफोन सम्वादमा भने, ‘विद्युतीय रिक्साहरु मुख्य राजमार्गभित्र मात्रै चल्न पाउने नियमबमोजिम राजमार्गमा निषेध गर्ने निर्णय गरिएको हो ।’

राजमार्गमा चल्न नदिने भए किन अटो वा टेम्पोजस्तै दर्ता र लाइसेन्स दिइएको त भन्ने प्रश्नमा एसपी लम्सालले भने– ‘यो प्रश्न मलाई हैन, यातायात कार्यालयलाई सोध्नुस् ।’