काठमाडौं-प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन जारी राखेका छन् । म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै भएको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । घटनाको विरोधमा स्थानीयले प्रदर्शन थालेपछि सदमुकाम तनावग्रस्त बनेको छ।


ADVERTISEMENT


म्यादी प्रहरी र स्थानीयवासीले शनिवार बिहानैदेखि सदरमुकाम मान्ममा प्रदर्शन गरिरहेका छन् । घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द छ । कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध भएको छ । स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाई गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना पनि दिइरहेका छन् ।


ADVERTISEMENT

# # #


म्यादी प्रहरीको आन्दोलनमा स्थानीय बासिन्दालेसमेत साथ दिएका छन् । सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको स्थानीय प्रशासनले जनाएको छ । आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन् ।

स्थानीय प्रशासनले गोली नभइ ढुंगा लागेर म्यादी प्रशरीको मृत्यु भएको भनेपछि जिल्लाका राजनीतिक दलहरुसमेत आक्रोशित बनेका छन् । जसका कारण दलहरूसँग स्थानीय प्रशासनको वार्चम सफल हुन सकेको छैन । अवस्था सामान्य बनाउन पहल जारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए । मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन् ।

मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ ।

यता प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले घटनाको बारेमा छानबीन भइरहेको बताएका छन् । उनले भने,‘घटना कसरी भयो भन्ने छानबीन भइरहेको छ, हामीले स्थानीय राजनीतिक दलसँग पनि छलफल गरिरहेका छौं । घटनाबारे सत्यतथ्य बाहिर ल्याउने छौं, हामी यसमा गम्भीर बनेका छौं ।’-आजको अन्नपुर्णबाट