काठमाडौं-नेकपा माओवादी केन्द्रले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको नाम लगभग टुंगो लागेको छ ।


ADVERTISEMENT


संवैधानिक व्यवस्था र प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार समानुपातिकमा लगभग १७ सिट पाउने सुनिश्चित भएपछि माओवादी केन्द्रले आन्तरिक गृहकार्यमार्फत विजयी उम्मेदवारको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार १५ जना महिलाको नाम लगभग टुंगिएको छ भने पुरुषका लागि प्राप्त दुई सिटमा भने अझै छनोट हुन सकिरहेको छैन । त्यसमा रस्साकस्सी जारी छ ।


ADVERTISEMENT

# # #


करिब ५३ सिटसहित तेस्रो दल हुन गइरहेको माओवादी केन्द्रले कम्तीमा १८ जना महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण समानुपातिकका लागि १५ महिला उम्मेदवारको छनोट गरेको हो । ‘आन्तरिक गृहकार्यअनुसार समानुपातिकबाट विजयी हुने १७ मध्ये १५ जनाको नाम लगभग टुंगिएको छ ।

पुरुषको हकमा भने रस्साकस्सी जारी छ,’ माओवादी उच्च स्रोतले भन्यो । स्रोतका अनुसार समानुपातिकको मतगणना सम्पन्न भएर कुल परिणाम सार्वजनिक भएपछि आन्तरिक गृहकार्य सकिएको र आयोगले उम्मेदवार माग गरेलगत्तै उक्त सूची बुझाइनेछ ।

जसअनुसार उक्त १५ सिटमध्ये खस आर्य कोटाबाट पूर्वमन्त्री रेखा शर्मा, तत्कालीन संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी, पूर्वमन्त्री धर्मशिला चापागाईं र सीता पोखरेलको नाम लगभग टुंगिएको छ । त्यसैगरी जनजाति महिला कोटाबाट पूर्वमन्त्री जयपुरी घर्तीमगर, शशि श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्तीमगर र यशोदा सुवेदी गुरुङ पर्ने भएका छन् ।

पूर्वसभामुख घर्तीमगरका पति वर्षमान पुन रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भइसकेकाले एकै परिवारका दुई सदस्य प्रतिनिधिसभामा देखिने भएका छन् । त्यस्तै यशोदा गुरुङ सुवेदी पनि पतिसहित संसद्मा देखिने अर्की भाग्यमानी नेतृमा पर्दैछिन् । उनका पति देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

दलित कोटाबाट अञ्जना बिशंखे र दुर्गा विक पर्ने सम्भावना प्रबल छ । क्रमसंख्याका आधारमा जसरी खस आर्य र जनजातिबाट ९ नेतृ पर्नेछन्, सोहीअनुसार बिशंखे र दुर्गा विक पर्न लागेका हुन् । दलित कोटाबाट उनीहरू क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । माओवादीले कम्तीमा दुईजनालाई दलित समुदायबाट संसद्मा प्रतिनिधित्व गराउनुपर्नेछ ।

नयाँ शक्तिबाट फर्र्किएकी नेतृ इन्दु शर्मा पनि सांसद हुन पाउने भाग्यमानी नेतृमा परेकी छिन् । सहिद रामवृक्ष यादवकी छोरी बोधमाया यादव पनि शर्माझैं मधेसी कोटाबाट प्रतिनिधिसभामा पुग्न लागेकी हुन् । थारू समुदायबाट रामकुमारी चौधरी र मुस्लिम कोटाबाट चाँदतारा कुमारी सांसद हुने लगभग पक्कापक्की भइसकेको माओवादी स्रोतले बतायो ।

महिला उम्मेदवारको हकमा माओवादीले सबैभन्दा बढी अर्थात् तीनजना महिला उम्मेदवारलाई जिताएर पहिलो दल बनेको छ । एमालेले दुई र कांग्रेसले एक सिट पनि जिताउन नसक्दा माओवादीले भने उक्त संख्याबराबर सिट जिताएर महिलाको हकमा पहिलो पार्टी बनेको हो । ललितपुर–१ बाट पम्फा भुषाल, रुकुम पूर्वबाट कमला रोक्का र कञ्चनपुर–३ बाट बिना मगर विजयी भएकाले माओवादीको उक्त रेकर्ड बनेको हो । विजयी मगर भने अध्यक्ष दाहालकी बुहारीसमेत हुन् ।

पुरुष छनोटमा सकस
निर्वाचन कानुननअनुसार माओवादीले समानुपातिकबाट जम्मा दुईजनालाई मात्रै प्रतिनिधिसभामा पठाउन सक्नेछ । खस आर्यकोटाबाट पहिलो नम्बरमा रहेका हितराज पाण्डेले गोरखा–२ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई अन्तर्घात गरेको भन्दै मौखिक उजुरी नेतृत्वसमक्ष गरिएको छ । जसका कारण पहिलो नम्बरमा भए पनि उनको सम्भावना कम रहेको माओवादी नेताहरू बताउँछन् ।

दलित कोटाबाट तिलक परियार, जनजाति कोटाबाट सुनिल मानन्धर, मधेसीबाट श्रवण यादव, थारूबाट रामजी चौधरी र मुस्लिमबाट हकिकुल्लाह खान र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह पहिलो नम्बरमा परेका छन् । पाण्डे, परियार, खान र सिंह यसअघि पनि संविधानसभा सदस्य भइसकेका उम्मेदवार हुन् भने पहिलो नम्बरमा परेका अन्य उम्मेदवार नयाँ अनुहार हुन् । दुईजनामात्रै छान्नुपर्ने भएकाले क–कसलाई छनोट गर्ने भन्नेमा माओवादी अझै निष्कर्र्षमा पुग्न नसकेको स्रोतले बतायो ।

दाहाल पाँच दिनका लागि काठमाडौबाहिर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मतदातालाई धन्यवाद दिने भन्दै पाँच दिनका लागि काठमाडौं उपत्यकाबाहिर निस्केका छन् ।

चितवन–३ बाट विजयी भएका अध्यक्ष दाहालले मतदातालाई धन्यवाद दिनका लागि कम्तीमा ५ दिन काठमाडौंबाहिर रहने उनका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए । ‘चितवनका मतदातालाई धन्यवाद दिने कार्यक्रम छ, बीचमा भैरहवामा पनि कार्यक्रम तय भएको छ,’ उनले भने, ‘११ गते काठमांडौं फर्कने कार्यक्रम तय भएको छ ।’ उनका अनुसार दाहाल उताबाट फर्केपछि समानुपातिकको अन्तिम टुंगो लगाइनेछ ।