जनकपुरधाम – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आजदेखि मधेस प्रदेशको जनकपुरधाम, धनुषास्थित कार्यालयबाट पनि प्रदान गर्न थालिएको छ ।


ADVERTISEMENT


श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाका निमित्त कार्यालय प्रमुख रामउदार अधिकारीले सातै प्रदेशबाट श्रम स्वीकृति सेवा दिने सरकारको नीतिअनुसार जनकपुर कार्यालयबाट सेवा प्रदान गरिने जानकारी दिए । उनले अब जनकपुरबाट व्यक्तिगततर्फ पुनःश्रम स्वीकृति (नवीकरण) र पहिलो पटक विदेश जाने व्यक्तिको श्रम स्वीकृति तथा संस्थागततर्फका पूर्व र अन्तिम श्रम स्वीकृति गरी तीन प्रकारका सेवा प्रवाह हुने अधिकारीले जानकारी दिए । यसअघि यहाँबाट व्यक्तिगततर्फ पुनःश्रम स्वीकृति (नवीकरण) सेवा मात्रै प्रवाह हुने गरेको थियो ।


ADVERTISEMENT

# # #


“पहिले यहाँ (जनकपुर) बाट व्यक्तिगततर्फ पुनःश्रम स्वीकृतिको काम मात्रै हुने गरेको थियो । सरकारको नीतिअनुसार अब थप दुई प्रकारका सेवा पनि सुरु भएका छन्”, निमित्ति प्रमुख अधिकारीले भने “यस कार्यले श्रम स्वीकृतिका लागि काठमाडौँ जानै पर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ ।”

उनले यसअघि अनलाइनमार्फत घरबाटै आवश्यक प्रक्रिया गर्न सक्ने हुँदा कार्यालय धाउनुपर्ने अवस्था अन्त्य भइसकेकाले अब जनकपुरबाटै सबै काम हुने भएपछि यहाँका नागरिक थप लाभान्वित अपेक्षा व्यक्त गरे।

यसरी हुनेछ सेवा प्रवाह

काठमाडौँमा जस्तै श्रम तथा रोजगार विभाग काठमाडौँले प्रदेशलाई पनि दैनिक सेवा प्रवाहका लागि ‘टोकन’ दिनेछ । त्यसरी प्राप्त टोकनका आधारमा व्यक्तिगत वा संस्थागत श्रम स्वीकृतिका लागि अनलाइन विवरणअनुसार श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाले सेवा प्रवाह गर्नेछ ।

निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार विभागबाट ७५ प्रतिशत र विभागसँगको समन्वयमा जनकपुरधाम कार्यालयबाट अत्यावश्यकको हकमा २५ प्रतिशत श्रम स्वीकृतिको टोकन जारी गर्न सकिने छ । पुनः श्रम स्वीकृति (नवीकरण) को काममा अभ्यस्त भइसकेकाले त्यसमा कुनै समस्या नरहे पनि थप सेवा प्रवाहका लागि भने केही व्यवस्थापकीय सुधार गर्नुपर्ने अधिकारीले बताए ।

“अहिले भाषा अनुवादकको अभाव छ । विभागले चाँडै त्यसको व्यवस्थापन गर्छौं भनेको छ”, अधिकारीले भने, “अनुवादकको अभावमा अरबी भाषासँग जोडिएका काम प्रभावित हुने भए पनि बाँकी काम मागअनुसार नियमित हुन्छ । हामी तयारी अवस्थामा छौँ ।”

अहिले जनकपुरधाम कार्यालयमा १४ कर्मचारीको दरबन्दी रहेकामा हाल निमित्त कार्यालय प्रमुख, एक शाखा अधिकृतसहित आठ जना जनशक्ति मात्रै उपलब्ध छन् । हाललाई उपलब्ध जनशक्तिले काम चले पनि कामको चाप बढ्दै जाँदा थप जनशक्ति चाहिने र त्यसका लागि विभागलाई पनि ध्यानाकर्षण गराइएको अधिकारीले जानकारी दिए ।

थपिएको सेवाबाट लाभ कसरी लिने ?

यसअघि व्यक्तिगततर्फ पुनः श्रम स्वीकृति (नवीकरण) मात्रै हुने गरेकामा अब जनकपुरबाटै व्यक्तिगततर्फ नयाँ श्रम स्वीकृति र संस्थागततर्फ पूर्वश्रम स्वीकृति एवं अन्तिम श्रम स्वीकृति सेवा पनि लिन पाइने छ । अर्थात यसअघि काठमाडौँबाट मात्र हुने गरेको थप दुई सेवा पनि अब जनकपुरबाटै प्रवाह हुनेछ ।

देशभरि नै श्रमसम्बन्धी काम अनलाइन प्रणालीबाट मात्रै प्रवाह भइरहेकाले यताबाट सेवा लिनेले पनि सोहीअनुसार प्रक्रिया पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ । प्रदेशबाटै हुने व्यक्तिगततर्फको नयाँ श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनबाटै अपलोड गर्नुपर्नेछ । कतार, साउदी अरब, युएई र कुवेतको हकमा सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट प्रमाणित रोजगारदाता सम्झौता पत्र वा अफर लेटर हुनुपर्ने व्यवस्था छ ।

त्यसैगरी संस्थागततर्फ पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति आवश्यक हुन्छ । यो म्यानपावरबाट हुने कार्य हो । यसमा पूर्व श्रम स्वीकृतिका लागि संस्थाले अनलाइनमार्फत आवेदन दिँदा वैदेशिक रोजगार नियमावली, २०६४ को नियम १२ मा भएको व्यवस्थाबमोजिमका कागजात मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुरूप सम्बन्धित देशस्थित नेपाली दूतावासबाट अनलाइन प्रणालीमा आउनुपर्ने व्यवस्था छ । जसअनुसार मागपत्र, अख्तियारनमा, रोजगारदाता कम्पनी र इजाजतपत्रवाला संस्थाबीचको करारपत्र, इजाजतपत्रवाला संस्था र कामदारबीच हुने करारपत्र र ग्यारेन्टीपत्र आवश्यक पर्ने श्रम तथा रोजगार कार्यालय जनकपुरधाम, धनुषाका निमित्त प्रमुख अधिकारीले जानकारी दिए ।

त्यसैगरी संस्थागत अन्तिम श्रम स्वीकृतिका लागि पनि अनलाइन आवेदनसहित कामदारको सक्कली राहदानी र भिसा, काममा जान चाहेको व्यक्तिको अनुभव खुल्ने तालिमको प्रमाणपत्र, निरोगिताको प्रमाणपत्र, रोजगारदाता कम्पनीसँग भएको करार सम्झौतापत्र, इजाजतवाला कम्पनी र कामदारबीच हुने करारपत्र, म्यादी जीवन बीमाको प्रमाणपत्र, कल्याणकारी कोषमा जम्मा गरेको तोकिएका रकमको भौचर, कामदार छनोट सूची, विदेशी विमानस्थल प्रयोग गर्नुपरेमा प्रस्थान विन्दु र उडान तालिका, इजाजतवाला कम्पनीलाई तिरेको रकमको रसिद, पूर्व स्वीकृति प्राप्त पत्र, प्रहरी रिपोर्ट (आवश्यक देशमा), आवश्यक पर्ने देशको कलिङ भिसाको प्रतिलिपि र कामदार वा नजिकको हकवालाको बैंक खाता, सम्पर्क ठेगानासहित मोबाइल नम्बर र इमेल ठेगाना आवश्यक पर्ने पनि अधिकारीले जानकारी दिए । रासस