काठमाडौं-ब्राउन सुगर प्रयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक डाक्टरसहित ३ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रतिष्ठानको इन्टर्न सकेका डाक्टर क्षितिज श्रेष्ठसहित धरान १२ का उज्वल हलवाई र दिनेश श्रेष्ठ पनि शनिबार प्रतिष्ठानबाट पक्राउ परेका हुन् । हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पुर्‍याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी स्रोतले जनाएको छ । श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रतिष्ठान हाताभित्र कोही गैरकानुनीरुपमा पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउँदैन । सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ । त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गर्छ । यो घटना भने तत्कालै प्रहरी र पत्रकारहरुसम्म पुगेपछि गुपचुप हुन पाएन । यद्यपी, म्याद थप नभएकोले प्रहरीले घटनाको बिषयमा औपचारिकरुपमा जानकारी गराएको छैन ।

प्रहरी स्रोतका अनुसार डा.श्रेष्ठको कोठाबाट २५ मिलिग्राम ब्राउन सुगर वरामद भएको छ । ‘रुममा नै थालमा राखेर सुध्न ठिक्क परेको बेला फेला परेका छ,’प्रहरी स्रोतले भन्यो,‘उज्वलले बाहिरबाट भित्र पुर्याउने, भित्र मेस सञ्चालक दिनेशले डाक्टरलाई सप्लाई गर्ने गरेको रहेछ ।’

प्रतिष्ठानका प्रवक्ता डा.पशुपति चौधरीले भने होस्टल वार्डेनले छानबिन गरिरहेकोले यथार्थ पत्ता लाग्न बाँकी रहेको बताए । शंका लागेर प्रहरीलाई पनि बोलाएको प्रवक्त चौधरीको भनाई थियो । ‘वार्डेनले छानबिन गरिरहेको छ, शंका लागेर प्रहरी पनि बोलाएको रहेछ,’उनले भने।