काठमाडौँ– आज राष्ट्र निर्माता श्री ५ बडा महाराज पृथ्वी नारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस ।  पृथ्वी नारायण शाहले तत्कालीन समयमा गरेको एकीकरण अभियानको सम्मान गर्दै सरकारले आजको दिन सार्वजनिक बिदा दिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


पृथ्वी नारायण शाहलाई यत्तिकै राष्ट्रनिर्माता भनिएको होइन । उनी जे कुरा सोच्दथे र जे बोल्दथे त्यसमा अटल भएर त्यसलाई पूरा गरेरै छोड्थे । यस्तै, उनको आफ्ना राज्यका जनताप्रति लगाव पनि उत्तिकै रहेको थियो भने उनी भ्रष्टचारलाई जघन्य अपराध मान्थे । के तपाईलाई राष्ट्र एकीकरण गर्ने शाहले आफ्ना जनताप्रतिको खर्चिएका यी प्रसिद्व भनाईहरु थाहा छ ? यी हुन् उनका चर्चित वाणीहरु :


ADVERTISEMENT

# # #


१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

४. सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५ .जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।