– गोविन्द रिजाल 


ADVERTISEMENT


मलाई अचेल
‘म’ पटक्कै मन पर्दैन,


ADVERTISEMENT

# # #


न गाँउले जस्तो, न शहरीया जस्तो
न शिक्षित जस्तो, न अनपढ जस्तो
न आधुनिक, न पुरातनवादी
म आफै-आफै वर्णशंकर जस्तै भएर हो कि
मलाई अचेल
‘म’ पटक्कै मन पर्दैन ।

तिमी मंगलग्रहमा बस्ती बस्दैछ भन्छौ
म बासको जोहोमा छु
नदी किनारमा
एक थान झुपडीको खोजिमा
भौतारिने मैँले
मंगल यानका कुरा कसरी बुझ्नु र !
केही नबुझ्ने भए पनि
तिमी सुनाई रहने
नबुझेर पनि सुनिरहने वेबकुफ म
भएर होला
मलाई अचेल
‘म’ पटक्कै मन पर्दैन ।

तिमी भ्यालेन्टाइन डे
धुमधामले मनाउनुपर्छ भन्छौ
म त मेरै जन्मदिन बिर्सिन्छु
वर्षको एकपटक
हग डे, चकलेट डे, रोज डे,
कुन कहिले आँउछ कसरी बुझ्छु र
मलाई त अष्टमि, एकादशी हुँदै पुर्णिमा
आउने सिकाईएको छ उहिले उहिले
न उहिले सिके न अहिले बुझे
तिमी जस्तै जस्तै हुन
नसकेर हो कि ?
मलाई अचेल
‘म’ पटक्कै मन पर्दैन ।

डिस्को, पब र नाईट क्लवको जमानामा
तिम्रा लागी रात दिन एकनास छन्
एल ओ डी छ
पब छ, क्लब छ
साथी छन्, समय छ
आठ नबज्दै निदाउनु पर्ने
बाध्यता पनि त छैन म जस्तै
थुक्क साला !
यस्तो पनि जिन्दगी हुन्छ र !
सुत्यो, उठ्यो, खायो, भौतारीयो, सुत्यो
तिमीजस्तै गतिशील हुन नसकेर पो हो कि
मलाई अचेल
‘म’ पटक्कै मन पर्दैन ।

हो लाख कोशिस गर्दा पनि
म नयाँ हुन सकिनँ
आधुनिक हुन सकिनँ
गतिशील त झनै हुन सकिनँ
न खान आँउछ, न लुगा लाउन आँउछ
न हिंड्न आँउछ, न बोल्न आँउछ
यस्तै यस्तै रूढ, पाखे, गँवार, पुरातन
भएर हो कि ?
मलाई अचेल
म पटक्कै मन पर्दैन ।

सत्य, तिम्रो कसम
मलाई ‘म’
पटक्कै मन पर्दैन ।