काठमाडौं– नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरु गरिसकेको छ, हामी साना÷मसिना दलहरुलाई समेत समेट्नगरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भोजपुरबाट प्रदेश सभामा निवाचित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे । ‘सरकारको नेतृत्व कसले गर्छ भन्ने प्रश्न अब प्रश्न रहेन । हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ भन्नेमा कुनै शंका छैन।’


ADVERTISEMENT

# # #


उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाई नहुने समेत जिकिर गरे । उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रित छ, सरकार गठनको काम टुँगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठनपूर्व पार्टी एकता नहुनपनि सक्छ।’

प्रदेश नं १ को मुख्य मन्त्री पनि आफू हुने उअ्नले दाबी गरेका छन् । ‘म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दावेदार हुँ ।’ आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक भएको स्पष्ट पार्दै उनले भने, ‘म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवं निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ त्यसैले प्रदेशको भूगोल, त्यसभित्रको सबै विविधता र सन्तुलनको अवस्था र सबै संवेदनशीलताको आधारमा म नै विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ ।’