गुलरिया — एमाले उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारण पत्ता लगाउने टोलीले दोस्रो पटक पुन: छानविन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय अन्तर्विरोध र उम्मेदवार आफ्नै कार्यशैलीले हारमा मलजल पुर्‍याएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


वामगठबन्धनको एक सुत्रधार मानिएका उपाध्यक्ष गौतम आफ्नै क्षेत्रमा थोरै मतको अन्तरालले पराजित भएको विषयलाई लिएर केन्द्रबाट गठित केन्द्रीय सदस्य वैजनाथ चौधरीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ। सदस्यमा प्रदेश कमिटी सचिव भुमीश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराईको सदस्य रहेको समितिले तीन दिन स्थानीय तवरमा सोधपुछ गरि प्रतिवेदन तयार पारेको एमाले पार्टीले जनायो।


ADVERTISEMENT

# # #


पार्टीका एक नेताले उक्त प्रतिवेदन केन्द्रमा समेत पठाइएको र पुन: छानविन गर्नुपर्ने भनि काम थपिएको जानकारी दिए। संयोजक चौधरीले यसै साताबाट पराजयको कारण पत्ता लगाउन पुन काम थालिने र त्यसका लागि बर्दिया आउने जानकारी दिए। ‘छानविन सकिएन। आन्तरिक र बाहिरी अन्तरघात भएको वा के कारणले हार भएको बारे पुरै निष्कर्ष निकाल्ने छौं,’ संयोजक चौधरीले बताए।

पार्टी स्रोतले जिल्लाका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई गुलरिया, पुर्ण शर्मालाई बारबर्दिया, पूर्व सांसद श्याम ढकाललाई बढैयाताल लगायत सिमित क्षेत्रको जिम्मा दिएको, परिचालनमा गौतमले ध्यान नदिएको जस्ता कारण समेत पहिलो चरणको छानविनमा देखिएको जानकारी दियो।

‘जिल्लाका भन्दा बाहिरी नेतालाई ल्याएर परिचालनमा जिम्मेवारी दिनु परिवारवाद लाद्न खोज्नु, आफू अन्तिमपटक उक्त क्षेत्रमा उठ्न आएको र अर्को पटक छोरा हरिश उठ्ने भनी प्रचार गरिनु, श्रीमती तुलसालाई समानुपातिक उम्मेदवार बनाउनुजस्ता कारण पनि देखिएका छन्’ स्रोतले बतायो।

अघिल्लोपटक निर्वाचन जितेपछि जिल्ला नफर्कनु, माथिल्लो पदमा बस्दा शिक्षित युवा वेरोजगारलाई वेवास्ता गर्नु, बर्सनि आउने बाढीले समस्या पर्दा मतदाता माझ नआउने जस्ता कारण समेत समितिले पाएको थियो।

त्यसो त, समितिले पुर्व सांसद श्याम ढकालदेखि लिएर युवा नेता खड्ग बहादुर खड्का समेतलाई अन्तरघात गरेको शंकामा छानविन तीब्र पारेको छ। पुर्व सांसद ढकालले निर्वाचनका समय आफुलाई परिचालित गरिएको बढैयाताल गाउँपालिकाको मत धेरै आएको बताए। ‘हारको प्रतिसोध हामी माथि लिने। आफ्ना सहयोगी र आफुलाई ढाकछोप गर्नेरु’ ढकाल भने उल्टै प्रश्न गर्छन्।
चुनावका बेला गौतमको क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडी परिचालन हुँदा जनताले रोष प्रकट गरेको विषय समेत छानविनको दायरामा परेको छ।

वामपन्थीको गढ मानिएको यस क्षेत्रमा एमाले उपाध्यक्ष गौतमको पराजयलाई पार्टीले गम्भीर रुपमा लिएको छ।

कांग्रेसका जिल्ला सभापति एंव सिँचाई मन्त्री सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरालले उपाध्यक्ष गौतम पराजित भएका थिए। मतपरिणाम अनुसार कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए। एमालेका गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका हुन।

नेता गौतम तीस हजार बढी मतले विजयी हुनेमा ढुक्क थिए। उनले कमजोर ठानेको कांग्रेसको बढी मत भएको सदरमुकाम गुलरियामा डेरा लिई निर्वाचनको अधिकांश समय सदरमुकाममा बिताएका थिए। उनलाई बढैयाताल गाउँपालिका, बासगढी र बारबर्दिया नगरपालिका एमाले र माओवादीको गढ भएकोले बढी मत आउनेमा ढुक्क थिए। बारबर्दिया माओवादी गढबाट राम्रो मत गौतमले पाएपनि आफ्नो पकडमा भने थोरै मत पाएका थिए। एमाले र माओवादीको गढ मानिएको क्षेत्र नम्बर १ को बढैयाताल गाउँपालिका र बासगढी नगरपालिकामा अपेक्षाकृत मत नपाउँदा गौतम पराजय हुन परेको हो। बढैयाताल गाउँपालिका र ,बासगढी नगरपालिका एमालेको पकड मानिएको गढबाट मत आउन नसक्नु पार्टी भित्र अन्तरघात भएको मतदाताको बुझाई छ। पार्टी स्रोतले प्रदेशसभामा केही शीर्ष नेताले टिकट नपाएपछि आक्रोश पोख्दै आएकाले गौतम प्रति अन्तरघातको खेलमा उत्रेका आरोप समेत लगाउँदै आएका छन्।

कांग्रेका उम्मेदवार सिँचाई मन्त्री सञ्जय गौतम छोटो अवधीमा रम्मापुर—गुलरिया सडक खण्ड निर्माणका लागि बजेट निकासा गर्नु, बबई नदी व्यवस्थापनका लागि ३ अर्ब ९२ करोडको गुरुयोजना सुरु गर्नु, गुलरिया—मुर्तिहा नाका सञ्चालन गर्न पहल गर्नु लगायतका कामले मतदाता प्रभावित भएका हुन। सिँचाई मन्त्री भएपछि उनि २८ पटक जिल्ला आएर स्थानीय संग विकास निर्माणका विषयमा छलफल गर्नुले पनि मतदाता आर्कषित भएको स्थानीय बताउँछन्।

स्थानीय निकायको निर्वाचनमा क्षेत्र नम्बर १ स्थित बारबर्दियाका तीन वडा छाडेर एमालेले ३१ हजार २ सय ६०,माओवादी केन्द्रको २४ हजार ४ सय ५२ मत जोड्दा ५५ हजार ७ सय १२ मत प्राप्त गरेको थियो। कांग्रेसको २३ हजार ५ सय ३०,फोरम लोकतान्त्रिकको ४ हजार २ सय ५० र राप्रपाको १ हजार ३३ मत जोड्दा २८ हजार ८ सय १३ मत हुन जान्छ। यति ठूलो अन्तरालमा वाम गठबन्धनको मत हुँदाहुँदै एमाले उपाध्यक्ष गौतमले पराजय भोगेका हुन्।