काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पहिलो संस्करणको नेपाल टी–२० लिगमा जानअन्जानमा कमीकमजोरी भए पनि खराब नियत नराखिएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्दले प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई विश्वास गर्नु, प्रक्रियागत कुराहरुमा केही ढिलाई हुँदा कमीकमजोरी देखिएको बताएका हुन् ।


ADVERTISEMENT


उनले राष्ट्रिय खेलकुद परिषद्को स्वीकृति प्रदान गरिएको चिठी पाएपछि मात्रै सेभेन थ्री स्पोर्टससँग सम्झौता गरिएको बताउँदै उनले भने, ‘सरकारले चिठी दिएपछि मात्रै हामी यो कार्यमा गएका हौँ । काम गर्दै जाँदा केही कमीकमजोरी भएको होला तर खराब नियत थिएन । तर क्यामले गल्ती नै गरेको भन्ने कुरामा म असमर्थ छु ।’


ADVERTISEMENT

# # #


उनले नेपाल टी–२० गलत योजना नभए पनि यसका नरात्मक पक्षहरु मात्रै बाहिर आएको भन्दै गुनासो पोखे । उनले भने, ‘डबल राउन्ड रोबिन खेल गरिएको, ८० प्रतिशत खेलाडीले पैसा पाइसकेको अवस्था छ, खेलाडीले कूल ५ करोड रुपैयाँ पाँदैछन् । धेरै कुुराहरु नकारात्मक छैनन् । तर, स्पट फिक्सिङ चर्चामा आएपछि अरु कुराहरु बिग्रिएको जस्तो भयो ।’

उनले प्रतियोगिताका लागि खेलाडी आइसकेको अवस्थामा नेपाल टी–२० स्थगित गर्दा नेपाल क्रिकेटको छवी झन् बिग्रिने भन्दै आफूले सेभ ल्याण्डिङ गरेको दाबी गरे । उनले भने, ‘यदि लिग रोकेको भए, अहिले जस्तो अवस्था छ नेपाली क्रिकेटको, अझै बद्नामी हुन्थ्यो । काठमाडौँ आइसकेका ३३ जना विदेशी खेलाडीलाई फिर्ता पठायो भने यो डिजास्टर म सहन सक्ने अवस्थामा थिइनँ ।’

यस्तै अध्यक्ष चन्दले सेभेन थ्रीसँगको सम्झौता रद्द गर्नेबारे राष्ट्रिय खेलकुद परिषद्को पत्र आफूले पाइनसके पनि नेपालको नियामक निकायको निर्देशन अनुसार अघि बढ्ने बताए । सम्झौता क्यानको बोर्ड र साधारणसभाको स्वीकृतिमा भएको बताउँदै उनले भने, ‘सबै कानुनी पाटाहरु नियालेर यसबारेमा हामी प्रक्रियामा जान्छौँ । निश्चित रुपमा निर्देशन पनि एउटा महत्वपूर्ण कुरा हो । क्यानको बोर्ड बैठकमा यो कुरा छलफलको विषय बन्छ ।’

उनले स्पट फिक्सिङ जस्ता गतिविधि गरेर नेपाली क्रिकेटको छविलाई धमिलो बनाउन खोज्ने जोसुकैलाई क्यानले कुनै किसिमको सदासयता नदेखाउने बताए । उनले भने, ‘दोष प्रमाणित भएकालाई आईसीसीको नियम र हाम्रो देशको कानुन अनुसार कारबाही हुन्छ ।’

गत महिना भएको नेपाल टी–२० मा स्पट फिक्सिङ भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल, राष्ट्रिय खेलकुद परिषद् र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुन्धान गरिरहेका छन् । सीआईबीले प्रतियोगितामा स्पट फिक्सिङ भएको निष्कर्ष निकाल्दै क्रिकेटर आदिल आलम र मेहबुब आलमलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।