काठमाडौं(रासस)-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू चितवन आएका दिन एमालेका अध्यक्ष केपी शर्मा ओली चीनसँग जोडिएको रसुवागढी नाका पुग्नुको रहस्य खोलेका छन् । भारतीय सिमानासँग जोडिएको पर्साको ठोरीमा सोमबार पुगेका प्रचण्डले उत्तर-दक्षिणका दुई छिमेकी देशसँग सडक र रेल सञ्जाल जोड्ने कामलाई गति दिन ‌ओली रसुवागढी नाका पुगेको बताएका हुन् ।


ADVERTISEMENT


‘म चितवन आएकै दिन ओलीजी रसुवागढी नाका पुग्नुभयो’, उनले ठोरीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘एमाले अध्यक्ष केपी ओली रसुवा जाने र म चितवन आउने संयोगले ठोरी-केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको छ ।’


ADVERTISEMENT

# # #


उनले चीनबाट आउने रेलसञ्जाललाई यही नाकाबाट भारतसम्म जोड्न सकिने तर्क पनि गरे । ठोरी नाकाको अवलोकनपछि ठोरी गाउँपालिकाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले ठोरीलाई ३ नं प्रदेशमा राख्ने कुरा अब कार्यान्वयन गरिने बताए ।

अब बन्ने सरकारले पहिलो प्राथमिकतामा राखेर ठोरीलाई ३ नं प्रदेशमा गाभ्ने उनले बताए । गाउँपालिकाको सर्वसम्मत निर्णयले कार्यान्वयनका लागि झन् सहज भएको उनको भनाइ छ । भारतीय नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत यो नाकाबाट भित्रिएको बताउँदै उनले ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताए ।

अध्यक्ष प्रचण्डले चितवनको बाँदरझुलाका बासिन्दालाई पनि धन्यवाद दिएका छन् । उनले त्यहाँ अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट सुकुम्बासी समस्या समाधानका लागि ठोस निर्णय गर्ने बताए ।

अध्यक्ष प्रचण्डले पछिल्ला समय पार्टी एकताबारे सञ्चारमाध्यममा आएका समाचारको उनले खण्डन गरे । एमाले र माओवादी केन्द्रबीचको एकताबारे शंका नगर्न पनि उनले आग्रह गरे । उनले राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने समेत दोहोर्याए ।