काठमाडौं – नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाएका छन्।

महरले सामाजिक सञ्जालमार्फत नेपाल प्रेसको कार्यालयभित्र प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई र नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रवेश गरी पत्रकार नवराज मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन्।


ADVERTISEMENT

#


उनले अन्य धेरै पत्रकारको समेत खोजी कार्य भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास लोकतन्त्रको बर्खिलाप भएको बताएका छन्। महरले राज्यद्वारा सञ्चालित दमन र हुर्मत लिने कार्यले प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्ने उल्लेख गर्दै यस्ता नियोजित गतिविधिको निन्दा गरेका छन्। लोकतन्त्रमा प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने उनको भनाइ छ।

पत्रकारिता क्षेत्रमाथि हुने हस्तक्षेपले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने भन्दै महरले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने महरले भनेका छन्।


ADVERTISEMENT

#
#