नेकपा एमालेका नेता तथा सुनसरी क्षेत्र नं ४ को (क) बाट प्रदेश सभाका सांसद जगदीश प्रसाद कुसियतसंगको कुराकानी


ADVERTISEMENT


प्रदेशसभा सदस्यमा वामगठबन्धनको तर्फबाट विजयी भएसंगै कस्तो अनुभूति भइरहेको छ ?


ADVERTISEMENT

# # #


जितले अलि बढी जिम्मेवारी थपिएको छ । सुनसरीका जनताले मलाई आफ्ना इच्छा आकांक्षा पूरा गरोस् भनेर जिताउनु भएको हो । त्यहाँका जनताका माग र आवश्यकता भनेको विकास र समृद्धि नै हो । त्यसको पूर्तिका लागि मैले आफूलाई बढी जिम्मेवार महशुस गरिरहेको छु ।

अब त्यहाँको जनप्रतिनिधि भइसकेपछि के कस्ता कार्यहरु गर्नुपर्ने छ ? निर्वाचन अघि तपाईले जनताका सामू देखाएका प्रतिवद्धता कसरी पूरा गर्नुहुन्छ ?

यो क्षेत्र एदमै ऐतिहासिक ठाउँ हो । ऐतिहासिक यस कारण कि यहाँका जनताको मत पाएर प्रधानमन्त्री समेत बनेका उदाहरण छन् । त्यसका बाबजूत पनि त्यहाँ विकास हुन सकेन । म पनि उप-निर्वाचनमा केही दिनको लागि साँसद भएर आएँ । मेरो समय पनि कम थियो र विकासका लागि संसदीय कोष पनि कम थियो । चाहे अनुसार केही गर्न सकिएन । त्यसले गर्दा दुई-तिन वटा समस्याहरु बडा जटिल छन् । जस्तो, कोसीटप्पू वन्यजन्तु आरक्षको सीमाको समस्या छ । त्यसले जनधनको क्षती वर्षेनी भइरहेको छ । दोस्रो यो कृर्षिमा आधारित ठाउँ भएकाले सिँचाईका पनि विविध समस्याहरु छन् । त्यस्तै सडक यातायातको पनि समस्याहरु छन् । अर्को महत्वपूर्ण समस्या भनेको बराह नगरपालिकाका केही केही वस्तीहरु अव्यवस्थित तरिकाले बसेका छन् । अबका दिनमा यी सबैको समाधान गर्नका लागि म सरकारसंग पहल गर्छु ।

निर्वाचनको बेलामा जनताको घरदैलोमा पनि जानुभयो होला । जनतासंग अन्तरक्रिया गर्दै गर्दा उनीहरुको आशा अपेक्षा के कस्ता पाउनु भयो ? के गर्नका लागि तपाईलाई उनीहरुले जिताए जस्तो लाग्छ ?

उहाँहरुको इच्छा आकांक्षा पनि समृद्धिकै लागि हो । विकासकै लागि हो । कतिपय कुराहरु म आफैलाई थाहा थिए भने कतिपय उहाँहरुले पनि मलाई भन्नुभएको छ । त्यसैले ती समस्याको समाधान गर्नु पर्छ ।

विकास र समृद्धिको कुरा गरिरहँदा तपाईको कार्यकालमा के काम हुन्छ ? कसरी अगाडी बढ्नुहुन्छ ?

त्यसको लागि त हामीले विगतमा पनि देखेकै हौँ । वाम घटकका मानिसहरु कम्युनिस्ट पार्टीको नाममा छुट्टाछुट्टै लड्दा समग्रमा हामीले ६० प्रतिशतको हाराहारीमा जहिले पनि मत ल्याउने गरेका छौँ । तर हामीले कहिल्यै पनि एक्ल सरकार बनाउन सकेनौँ । जसको कारण समृद्धितिर जान सकिएन । तर अहिले त ७०–७१ प्रतिशत पर्याएका छौँ । अव पाँच वर्षे सरकार वामगठबन्धन कै बन्ने भएकाले विकास र समृद्धि सम्भव छ । देशलाई समृद्धिको दिशामा लानुपर्छ, राष्ट्रिय एकता कायम गर्नुपर्छ भनेर नै हामीले वाम गठबन्धन गरेका हौँ । त्यस कारण निरन्तर हामीले पाँच वर्ष सरकार चलाउन सक्यौँ भने यी कुरा सम्भव छ ।

प्रदेश सभातर्फ विजयी हुनुभएको छ । प्रदेश नं १ मा तपाईको जिम्मेवारी पनि महत्वपूर्ण हुन सक्छ । अब प्रदेश नं १ विकासका कुराहरु कसरी अगाडि बढ्छन् ? भोलिका दिनमा प्रदेश नं १ का जनताले आफ्नो प्रदेशलाई कुन रुपमा पाउँछन् ?

प्रदेश नं १ को कुरा गर्दा अन्यभन्दा राजनीतिक, आर्थिक र भौगोलिक हिसाबले अब्बल देखिन्छ । यहाँ प्रशस्त प्राकृतिक स्रोत र साधानहरु छन् । तिनको प्रयोग अधिकरुपमा गर्नु पर्छ , त्यस्तै यहाँको सांस्कृतिक तथा सामाजिक सम्पदालाई पनि प्रवद्र्धन गर्नु पर्छ । अर्को भनेको प्रादेशिक संरचनामा हामी पहिलो पटक अभ्यास गर्दैछौँ । यो भनेको स्थानीय सरकार पछिको ठूलो निकाय हो , हामी त्यो ठाउँमा गइसकेपछि आफ्ना अधिकारलाई प्रयोग गर्दै १ नं प्रदेशलाई अझ समृद्ध बनाउने दिसामा उन्मुख हुन्छौँ ।

प्रदेश नं १ मा पनि वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले तपाईहरुकै सरकार बन्ने हो । त्यसका लागि अब सरकार गठनको पक्रिया पनि सुरु होला । तपाईको नाम मुख्यमन्त्रीमा पनि चर्चामा छ । खासमा यसको बारेमा बताईदिनुस् न ।

मैँले पनि यो कुरा मिडियामा नै सुनेको हुँ । तर म के भन्न चाहान्छु भने त्यसको लागि योग्य पनि छु । तर पार्टीले जिम्मेवारी दिएन भनेपनि त्यसमा मेरो कुनै गुनासो रहने छैन । पार्टीले दिएको जिम्मेवारीलाई स्वीकार गर्नैपर्छ । आफूलाई दिएको जिम्मेवारी म इमान्दार भएर बहन गर्न तयार छु । र त्यसमा योग्यता र क्षमता पनि राख्छु ।

तपाई एमालेको केन्द्रीय सदस्य पनि भएकाले केन्द्रीय राजनीतिको बारेमा पनि कुरा गरौँ । राष्ट्रयसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति कहाँ रोकिराखेको छ । त्यसले सरकार निर्माणमा ढिलाई भइरहेको छ । अब सरकार कहिले सम्म गठन होला जस्तो लाग्छ ?

उतार चढाकवका कुराहरु तपाई हामीले देखिरहेका छौँ । अध्यादेशको बाहानामा सरकार लम्ब्याउने खेल भइरहेको छ । त्यस कारण मलाई नयाँ सरकार निर्माण प्रक्रिया १५ दिनभन्दा पर जान्छ जस्तो लाग्दैन । वाम गठबन्धनको सरकार बन्छ ।

अहिले पार्टी एकतामा पनि उतार चढाव आएको जस्तो देखिन्छ नि ?

त्यसमा हाम्रा नेताहरु एकदम संवेदनशील छन् । त्यसका लागि वार्ताहरु निरन्तर चलिरहेका छन् । सम्भवत दुई-तीन दिनभित्रै हामी एकताको प्रक्रियामा जान्छौँ । जुन मुद्दा लिएर हामी जनताको माझमा गएका थियौँ । त्यसको काम अगाडि बढ्नुपनि पर्छ । निर्वाचन अघि संयुक्त घोषणपत्रले पनि हामी पार्टी एकिकरणकै पक्षमा छौँ भन्ने बुझाउँछ । चर्चाका विषय अनेक चलिरहेपनि एकता निश्चित भइसकेको छ ।

अन्त्यमा, आम मतदाताहरु जसले तपाईलाई यो जिम्मेवारीमा पुर्याएका छन् । तिनीहरुलाई के भन्नुहुन्छ ?

मलाई भोट दिने मतदाताप्रति त म आभारी नै हुने भएँ । उहाँहरुका इच्छा आकांक्षा पूरा गर्ने मेरो प्रतिवद्धता पनि हो र पूरा गर्छु पनि ।