काठमाडौं-चार वर्ष अघिदेखि पूर्णरूपमा बन्द तातोपानी नाका खुल्ने सङ्केत चिनियाँ अधिकारीले दिएका छन् । नेपाल र चीन बीचका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनियाँ अधिकारीले नाका खुल्ने संकेत दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिएका हुन् ।


ADVERTISEMENT


ज्वाइन्ट कमाण्ड मेकानिजम एग्रिमेन्ट नेपालले पूरा गरे नाका केही महिना भित्रै खोल्ने चिनियाँ पक्षका पोलिटिकल कमिसार कर्णेल वाङ जिन ट्याङ्ग ग्वीले बताएका प्रजिअ तामाङले भनेका थिए ।


ADVERTISEMENT

# # #


तातोपानी नाकामा संयुक्त सुरक्षा योजनाबारे नेपालले प्रतिबद्धता गरे नाका खुलाउनेतिर चिनियाँ लाग्ने ग्वीको भनाई उद्धृत गर्दै प्रजिअ तामाङले जानकारी दिए । संयुक्त सुरक्षा योजनाबारे केन्द्रीय सरकारलाई जानकारी गराई टोलीको नेतृत्व गरेका प्रजिअले यसमा केन्द्रको निर्देशन चाहिने जानकारी दिएको बताएका छन् ।

ग्वीको नेतृत्वमा आठ सदस्यीय चिनियाँ टोली र प्रजिअ तामाङ नेतृत्वमा अध्यागमन, भन्सार, सीमा प्रहरीलगायत १३ जनाको टोलीले तातोपानी नाका खोल्ने विषयमा छलफल गरेको बताइएको छ ।

बर्सेनि २० अर्बभन्दा बढीको आयात तथा पौने तीन अर्बको निर्यात हुँदै आएको तातोपानी नाका पूर्ण बन्द छ । नाका बन्द हुँदा नेपाली व्यापारीले कामै छाड्नु परेका र विस्थापितसमेत हुन पुगेको भन्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष वेदबहादुर श्रेष्ठले सरकारले सीमा सुरक्षाको उचित प्रबन्ध मिलाई नाका खुलाउन लागि दिन आग्रह गरेका छन् ।

‘नाका अवरुद्ध हुँदा हजारौंको रोजिरोटी गुमेको छ । अब नाका खुलाई काम गरेर खान पाइने वातावरण बनाइदिनु पर्यो –अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।

व्यापारिक कारोबार गर्न नेपाल पक्षको सबै पूर्वाधार तयारी हालतमा रहेको तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले जानकारी दिएका छन् । नाका खुलाउने पहलकदमी तत्काल सरकारले लिनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका सदस्य गोविन्द चौलागाईले बताए ।

उक्त नाका आबद्ध व्यापारी व्यवसायी सङ्घ संस्थाले राजनीतिक दलका शीर्ष नेता र सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएर र भेटवार्ता गरी नाका खुलाइदिन अनुरोध गरिएको पनि चौलागाईले जानकारी दिएका थिए ।