नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसंग हिमालयपोष्टले गरेको विशेष कुराकानी :


ADVERTISEMENT


हालै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर मत परिणाम पनि आइसकेको छ । त्यस पछाडिको राजनीतिक घटनाक्रमलाई यहाँले कसरी हेर्नुभएको छ ?


ADVERTISEMENT

# # #


जनताको मतलाई मान्न नसकिने वा नजरअन्दाज गर्न नसकिने अवस्था त छँदैछैन । तर देशका अधिकांश आन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको र भखैरै मात्र तीनवटा निर्वाचन सम्पन्न गरेर नेपाललाई समृद्धिको दिशातिर लैजाने भन्ने हाम्रो सोच थियो । त्यसमा तगारा उत्पन्न भएको हामीलाई महशुस भएको छ । यद्दपी जनताको जनादेश हाम्रो लागि शिरोधार्य छ । शान्ति र संविधान निर्माण हाम्रै नेतृत्वमा भएका थियो । अब आर्थिक समृद्धिको कार्यान्वयनका लागि प्रतिपक्षमा बसेर जनताको हित र जनतासंगको सम्बन्धमा सचेत भएर अगाडी बढ्नुपर्ने जनादेशलाई हामी सम्मान गछौँ । समृद्धिको अभियानका लागि वाम गठबन्धनको नेतृत्वमा बन्ने जुन सरकार छ । त्यसलाई हामीले आलोचनात्मक रुपमा समर्थन गर्नु पर्छ । उसका राम्रा कामको सम्मान गर्दै गलत काममा औँला उठाउनु पर्छ ।

केही दिनदेखि नेपाली राजनीति गरम भएको छ । अहिले अध्यादेशमा गएर मुलुकको राजनीति अड्किराखेको छ । यो विषयलाई नेविसंघले कसरी लिएको छ ?

मलाई के लाग्छ भने वास्तवमा संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले आफ्नो कदम चाल्नुपर्ने जुन नियमहरु थिए, त्यसको उल्लंघन भएको हामीले महशुस गरेका छौँ । युवाहरुका तर्फबाट भन्दा नेपाल विद्यार्थी संघले यसको विरोधका लागि सक्त आवाज उठाएका छौँ । राष्ट्रियसभामा एकल संक्रमणीय पद्धतीद्वारा निर्वाचन सम्पन्न गर्ने भन्ने वैधानिक व्यवस्था अनुसार सरकारले पठाएको अध्यादेशलाई राष्ट्रपतिले त्यसरी रोक्न मिल्दैन । कानुनको शासन भएको देशमा सबैले आफ्नो हैसियतमा बस्नुपर्छ । राष्ट्रपति नेकपा एमालेको आवरणमा राजनीतिबाट प्रेरित भइरहनु भएको हो कि भन्ने हामीलाई लागेको छ । हामी यसको खिलापमा छौँ । देशलाई राजनीतिक संक्रमणबाट मुक्त गरेर विकासको बाटोमा अग्रसर गर्नुपर्ने बेलामा वाम गठबन्धनको इसारामा राष्ट्रपतिले जुन किसिमको हर्कत गरिराख्नुभएको छ । यो नेपाली जनताको भावनाको खिलापमा छ । जनादेशको भावनाको खिलापमा छ र नेपालको संविधानको बर्खिलापमा छ । त्यस कारण यदि यथासक्य अध्यादेश पारित भएन भने हामी राष्ट्रपतिका यी हर्कतका विरुद्ध जान बाध्य हुनेछौँ ।

दुईचार दिन अघिको नेविसंघको बैठकमा हामीले दुई चारवटा कुरा प्रमुखताका साथ उठाएका छौँ । पहिलो राष्ट्रपतिले संविधानभन्दा बाहिर गएर जुन प्रपञ्च रच्ने कोशिस गर्नु भएको छ । त्यसको विरुद्धमा सम्पूर्ण भातृसंस्थाहरुले जानुपर्ने अवस्था आउन सक्छ भनेर हामी भनेका थियौँ । अर्को कुरा निर्वाचन सम्पन्न पार्नका लागि सरकार, निर्वाचन आयोगदेखि सुरक्षा निकायसम्म सबैलाई हामीले धन्यवाद दिएका छौँ ।

अहिले निर्वाचनमा नेपाली कांग्रेसको परिणामलाई लिएर पार्टीका नेताहरुले सभापति तथा प्रधानमन्त्री देउवालाई दोष दिएका छन् । पार्टीको विशेष महाअधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्ने कुरा गरिरहेका छन् । यसमा तपाईको धारण के छ ?

अहिले पार्टीमा आन्तरिक द्वन्द्वजस्तो देखिएको छ । निर्वाचनमा कांग्रेसको पराजयलाई सबैले जिम्मेवारी लिनुपर्ने बेलामा कुनै एक व्यक्तिलाई मात्रै दोष लगाएर आफू उम्किन पाइँदैन । स्वभाविक रुपमा पार्टी सभापतिले यसको जिम्मेवारी अलि बढी लिनुपर्छ । तर एक व्यक्ति मात्र नभई टिमले नै पार्टी चलाउने भएकाले सामुहिक जिम्मेवारी लिनु पर्छ । निर्वाचन परिचालन कमिटीमा बसेकाहरुले यसको जिम्मेवारी लिने कि न हुने ? अहिले जे जती आवाज उठिरहेका छन् । तिनले कांग्रेसलाई बलियो बनाइरहेको छैन ।

निर्वाचन परिणाम संगसंगै नेता कार्यकर्तादेखि आम जन मानसमा नेपाली कांग्रेसको पुनर्ताजगी हुने अपेक्षा रहेको छ । त्यसको लागि युवा पङ्तीमा एउटा आशा भरोसा देखिन्छ । अब नेपाली कांग्रेसलाई कसरी अगाडी बढाउनु पर्छ ?

करिब ९० लाख विद्यार्थीको साझा संगठन नेविसंघ भएका कारणले युवाको भविष्यको पक्षमा बोल्नुपर्ने दायित्व छ । हामी त्यो दायित्वबाट बञ्चित हुँदैनौँ । नेपालको शिक्षा, स्वास्थ्य, विद्यार्थीहरुलाई परेका पीरमर्का, युवा रोजगारीका कुराहरु हामी उठान गर्छौँ । जनताको हितमा हामी बोल्ने गर्छौँ । पाँच वर्ष अब हामीले विगतका कमी कमजोरीलाई सच्याउँदै, आफूलाई परिवर्तन गरेर जनतासमक्ष, युवासमक्ष जान्छौँ । रोजगारीको स्थापना गरेर युवा पलाउन रोक्नु पर्छ भन्ने काम मात्र गर्दैनौँ । त्यसको कार्यान्वयनमा पनि ध्यान दिन्छौँ । चुडामणि शर्माजस्ता व्यक्तिलाई धरौटीमा छाडेर जुन किसिमको कानुनको खिल्ली उडेको छ । त्यस्ता कार्यको विपक्षमा उभिन्छौँ । आयल निगम घोटाला जस्ता भष्ट्राचारका विरुद्ध हामी दह्रो रुपमा उभिन्छौँ ।

जहाँसम्म निर्वाचन परिणामपछि कांग्रेसको कुरा छ । यसको लागि अहिलेको प्रमुख आवश्यकता भनेको ‘सेल्फ रियलाइजेसन’ हो । आ–आफ्नो स्थानबाट भएका गल्तीहरुको जिम्मा स्वयम् व्यक्तिले लिनुपर्छ । अबको पाँच वर्ष हामी काठमाडौँमा मात्रै होइन नेपाली जनताको चुलोचौकामा पनि पुग्नुपर्छ । हामी नेपाली जनतामा विश्वास गछौँ । यो भएमा मात्रै हाम्रो भविष्य छ । युवाको भविष्य छ । पाकाको अनुभव र युवाको जोसले मात्रै नेपाली कांग्रेस बलियो हुनुपर्छ । अब हामीले यी दुवै तत्वलाई साथमा लिएर अगाडी जानुपर्छ ।

नेपाली कांग्रेसलाई आम जनतामाझ पुर्याउने महत्वपूर्ण भातृ संगठनमध्ये नेविसंघलाई प्रमुख मानिन्छ । अबको नेविसंघ कुन दिशामा अगाडी बढ्छ ?

विपी कोइरालाले युवा तरुणमा मेरो विश्वास छ भनेको हामी सम्झिन्छौँ । अब हामी ७४४ वटै स्थानीय तहमा विद्यार्थीका पीरमर्का उठान गर्ने गरी जान्छौँ । विद्यार्थीका शैक्षिक समस्या उजागर गर्छौँ । त्यसपछि हाम्रा सदस्यता वितरणका कुराहरु अगाडी बढाउँछौँ । लाखौँ विद्यार्थीलाई सदस्यता वितरण गरीसकेपछि हामी प्रजातन्त्रवादी जनताको उत्पादनमा लाग्छौँ । विपी कोइरालाले देशको हितका सवालमा, राष्ट्रियताका सवालमा गरेका कार्यहरु हामीले जनतामाझ बताउन सकेका छैनौँ । त्यसको पनि हामी प्रचारप्रसार गर्छौँ ।

हामी विशेषगरी दुई कुरामा फोकस गरिरहेका छौँ । एउटा भनेको प्रजातन्त्र हो । प्रजातन्त्रप्रतिको आस्थाले मात्रै विकासको सम्भव हुन्छ । अर्को भनेको देश विकास र राष्ट्रियता हो । मुलूकमा अहिले राजनीतिक मेलमिलापको खाँचो छ । यसको माध्यमबाट मात्रै हामीले सोचेको प्राप्ति हुने हुनाले यही १६ गते त्यो कार्यक्रम राष्ट्रिय सभागृहमा र देशभरका क्याम्पस इकाईमा आयोजना गर्दैछौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले हाम्रै लागि भन्ने सोच दृष्टिगत गरेर जानुपर्छ । अरु कोही नभएर हामी हाम्रै लागि, हाम्रो समाजकोका लागि, आगामी पुस्ताको लागि काम गरिरहेका छौँ । कसैको लागि भन्दा पनि हामी देशको लागि गरिरहेका छौँ । साझा समाजका लागि गरिरहेका कारणले सत्कर्म र सद्बुद्धिमतापूर्वक आफ्नो योगदान दिने बेला आएको छ । नेविसंघका लाखौँ युवाहरुले अहिलेका असन्तुष्टीलाई टाढा राखेर एकतावद्ध तरिकाले देशको हितका लागि काम गर्नुपर्छ । बलियो कांग्रेस निर्माण गरेर प्रजातन्त्रका माध्यामबाट देशमा समृद्धिको ढोका खोल्नुको विकल्प छैन ।