काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको पछिल्लो गतिविधिले संविधान, प्रेस स्वतन्त्रता तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी आलोचनापछि रिहा गर्ने सरकारी कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।
उनले मिडिया हाउसमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिनु सामान्य घटना नभएको उल्लेख गर्दै यसले सरकारको लोकतान्त्रिक चरित्र र संविधानप्रतिको दृष्टिकोण उजागर गरेको बताए । थापाका अनुसार मिडियाको गेटमा प्रहरीका गाडी तेर्स्याएर पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्रीको सचिवालयले अनभिज्ञता जनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रधानमन्त्री कार्यालयको चासोका कारण नियन्त्रणमा लिइएको बताएको थियो ।
उनले प्रहरी आफैँले स्वेच्छाले सञ्चारगृहको न्यूजरुममा प्रवेश गरेर पक्राउ गर्ने अवस्था नरहने भन्दै यसका पछाडि उच्च तहको निर्देशन रहेको दाबी गरे ।‘पक्राउ गरियो र पछि छोडियो भन्ने कुरा मात्रै मुख्य होइन, सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कसरी बुझेको छ, प्रेसलाई कसरी हेरेको छ र संविधानप्रति उसको धारणा के हो भन्ने बुझ्न आवश्यक छ,’ थापाले भने ।
सरकारको कार्यशैली स्वेच्छाचारी र हुकुमी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउँदै उनले लोकतान्त्रिक व्यवस्थामा सरकारको इच्छा नै कानुन बन्न नसक्ने धारणा राखे ।उनले कुनै पनि लोकतान्त्रिक सरकार संविधान, कानुन र नागरिकका मौलिक अधिकारप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपलाई सामान्य रूपमा लिन नहुने बताए ।
सरकारले आलोचनालाई स्वीकार गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने लोकतान्त्रिक संस्कार अपनाउनुपर्नेमा पनि सभापति थापाले जोड दिएका छन् ।


























