काठमाडौं-सरकारले त्रिदेशीय ह्‍िवलचेयर क्रिकेट शृंखलाको उपाधि जित्ने नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँबाट पुरस्कृत गर्ने भएको छ ।


ADVERTISEMENT


बिहीबारको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो । सरकारको निर्णयबाट आफूहरु उत्साही भएको नेपाल ह्‍िवलचेयर क्रिकेट संघले जनाएको छ ।


ADVERTISEMENT

# # #


‘ह्‍िवलचेयरमा बसेर क्रिकेट खेल्नु नै साहसिक काम हो । त्यसमा पनि देशलाई उपाधि नै दिलाउनु त अझ प्रशंसाको विषय हो’, प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘उहाँहरुले देशलाई दिनु भएको खुसी र देखाउनु भएको साहसको प्रशंसा गर्दै थप हौसला बढाउन सरकारले जनही एक लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो।’

सरकारको निर्णयअनुसार उपाधि विजेता टोलीका १४ जना खेलाडी तथा प्रशिक्षक र व्यवस्थापकले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

नेपाली टोलीले पुस १ गते भारत र बंगलादेशको टोलीसमेत सम्मिलित त्रिदेशीय शृङ्खलाको उपाधि जितेको थियो । नेपाल ह्‍िवलचेयर क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगिता ह्‍िवलचेयर क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि दुईभन्दा बढी देश सम्मिलित प्रतियोगिता भएको थिएन ।

समूहगत चरणको खेलमा भारतलाई पराजित गरेको नेपालले फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै उपाधि चुमेको थियो । नेपाल ह्‍िवलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पाले सरकारको निर्णय सराहनीय भएको प्रतिक्रिया दिए । ‘नसोचेको सम्मान पाइयो । यो हामीलाई सरकारले दिएको ठूलो सम्मान हो ।

यो एउटा सकारात्मक नजिका रुपमा रहनेछ’, छुल्टिमले भने, ‘सरकारले अहिलेसम्म फरक क्षमता भएकाको खेलकुदका लागि केही नगरेको भन्ने आरोप लाग्दै आएको थियो तर, यो निर्णयले त्यो बुझाइलाई पनि परिवर्तन गर्नेछ ।’

नेपाली टोलीका कप्तान हिमाल अर्यालले पनि सरकारको निर्णयबाट आफूहरु गौरवान्वित भएको बताए । ‘ह्‍िवलचेयर क्रिकेटरहरु यसअघि आफ्नै खर्चमा देशका लागि खेलिरहेका थिए ।

म आफै पनि ह्विलचियर क्रिकेटमा लागेको आठ वर्ष भयो । यो अवधिमा मेरै कप्तानीमा भारतमा र बंगलादेशमा समेत नेपालले खेल जितेको छ’, हिमालले भने, ‘अहिलेसम्म कसैले पनि केही सहयोग गरेको थिएन । आज सरकारले पुरस्कृत गर्ने निर्णय सुन्दा गौरव लागेको छ ।’ उनले सरकारको यो निर्णयले नयाँ खेलाडीमा थप हौसला प्रदान गर्ने बताउदै खेलाडी, कोच सबैप्रति आभार व्यक्त गरेका थिए ।