काठमाडौं-राष्ट्रिय क्षयरोग केन्द्रको निर्माणाधीन भवनमा मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको छ । मध्यपुर थिमि–४ तछुटोलस्थित केन्द्रले नगरपालिकासँग कुनै स्वीकृति नलिई, नक्सापास समेत नगरी निर्माण थालिएको भन्दै सिलबन्दी गरेको हो । केन्द्रले करिब २९ करोड रुपैयाँ लागतमा ३ सय शय्याको छाती रोग अस्पताल भवनको निर्माण थालेको थियो ।


ADVERTISEMENT


नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कानुन अधिकृत केशव सिलवाल, नगरपालिकाका इन्जिनियर, ४ नम्बर वडाका वडाध्यक्ष कुमार श्रेष्ठ, नगरपालिका कर्मचारी, प्रहरीलगायतको टोलीले बिहीबार सिलबन्दी गरेपछि अस्पताल भवन निर्माण कार्य रोकिएको छ ।


ADVERTISEMENT

# # #


जनप्रतिनिधिले स्थानीय तह सञ्चालन सुरु गरेदेखि नै केन्द्रलाई नगरपालिकासँग स्वीकृति लिन, नक्सापास गर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गर्दै आएकाले सिलबन्दी गर्न बाध्य भएको मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

केन्द्रले नगरपालिकामा नक्साको प्रक्रिया सुरु नगरी तछुटोलको बस्ती जोखिममा पर्ने गरी स्काभेटरले खारेको नगरपालिकाले जनाएको छ । ‘नियमविपरीत ९० डिग्रीको कोणमा १ सय ५० फिटभन्दा बढी ठाडो गरी माटो काटेको पाइयो,’ नगरप्रमुख श्रेष्ठले भने, ‘सामाजिक भवन निर्माण गर्न बस्तीलाई धरापमा पार्न पाइँदैन ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ दफा २७ र २८ मा भवन वा भौतिक संरचना निर्माण गर्दा स्थानीय सरकारसँग पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट व्यवस्था भएकाले सोही ऐनमा टेकेर सिलबन्दी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । सरकारी निकायले नै लत्याएर भवन निर्माण सुरु गरेकाले नगरपालिका बाध्य हुनुपरेको समेत उनी बताउँछन् ।

यता राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदार नरसिंह केसीले भने एउटा सरकारी निकायले भवन विभागको नक्सा, मापदण्ड र स्वीकृतिमा अस्पताल भवन निर्माण गर्दा अर्को सरकारी निकायले रोक्नु नपर्ने बताए । ‘नगरपालिकामा नक्सा स्वीकृत गराउनुपर्ने हो, तर अस्पताल निर्माणको बजेट फ्रिज होला भनेर हतारमा भवन निर्माण थालेका हौं,’ उनले भने, ‘केही दिनभित्रै नक्सा पास गर्न नगरपालिकामा पेस गर्छौं ।’

२०७२ वैशाखको भूकम्पपछि सरकारी भवन निर्माण गर्दा अनिवार्य स्वीकृति लिएर मापदण्ड अनुसार जानुपर्ने व्यवस्था हुँदा पनि अस्पताल जस्तो संवेदनशील भवन निर्माण गर्दा केन्द्रले सरकारको नियम मिच्न खोजेको नगरपालिकाको आरोप छ ।