काठमाडौं-माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । ०६६ सालमा गरिएको अनुमान ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको हो । २०६६ सालयता भएको डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण लागत बढ्न गएको हो ।


ADVERTISEMENT


आयोजनाको लागतबारे एक समितिले अध्ययन गरिरहेको छ । त्यस क्रममा डलरको मूल्यवृद्धिका कारण मात्र सात अर्ब रुपैयाँ लागत बढ्ने देखिएको स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार गत आर्थिक वर्षसम्ममै ३६ अर्ब खर्च भइसकेको छ । ०६६ मा गरिएको लागतको आकलनभन्दा बढी त खर्च नै भइसकेको छ । अझै आयोजनाको १० प्रतिशतभन्दा बढी काम बाँकी छ ।

लागत पुनर्मूल्यांकन गर्न गठित समितिले लगभग रिपोर्ट तयार पारिसकेको आयोजना प्रमुख विज्ञान श्रेष्ठ बताउँछन् । भन्छन्, ‘एक सातामा रिपोर्ट तयार हुने देखिएको छ ।’ उक्त रिपोर्ट सञ्चालक समितिबाट पारित भएपछि मात्रै बढ्ने लागतबारे सार्वजनिक जानकारी दिने आयोजनाको तयारी छ ।

२०६५ सालको आकलनअनुसार एक मेगावाटका सात करोड ७३ लाख रुपैयाँ लाग्ने देखिएको थियो । अब भने प्रतिमेगावाट १० अर्ब लाग्ने देखिएको छ । न्यौपानेका अनुसार ०६५ सालमा प्रतिडलर ८० रुपैयाँ थियो । त्यसैलाई आधार मान्दै ३५ अर्बको लागत निकालिएको थियो । तर, अहिले डलरको भाउ एक सय दुई रुपैयाँ कायम भएको छ ।

केही वर्षअघि त एक सय १० रुपैयाँसम्म पुगेको थियो । त्यतिबेला आयोजनाले सोही सोही भाउमा भुक्तानी दिएको थियो ।

उक्त आयोजना निर्माणको जिम्मा चार वटा विदेशी कम्पनीले लिएका छन् । विदेशी कम्पनीलाई डलरमै भुक्तानी दिनु पर्छ । विनासकारी भूकम्पछि आयोजनाको काम डेढ वर्षसम्म रोकिएको थियो । लागत बढ्नुको एक कारण त्यो पनि हो । पहुँचमार्गहरु भूकम्पका कारण भत्किए, तिनको साटो करिब तीन सय ६० मिटरको सुरुङ निर्माण गर्नु पर्‍यो ।

भूकम्पका कारण बाँधबाट सुरुङभित्र पानी पठाउने इन्टेक १९ सेन्टिमिटर भासिएको थियो । ठेकेदारका आवासगृह पनि क्षतिग्रस्त भएका थिए । अरनिको राजमार्गबाट दोलखासम्म जाने सडकमा निर्मित पुलहरुले हेभी उपकरणको भार धान्न नसक्ने भएकाले वैकल्पिक व्यवस्था गर्नुपरेको थियो ।

यसबीचमा आयोजनाले डिजाइन पनि परिवर्तन गर्‍यो । मुख्य सुरुङको अन्तिम खण्डमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि डिजाइन परिवर्तन गर्नु परेको हो । मुख्य सुरुङको पेनस्टक अडिटतिर खनेर सकिएको पाँच सय मिटरमध्ये साढे चार सयमा स्टिल लाइनिङ, चार सय मिटरको नयाँ अडिट सुरुङ निर्माण र नौ सय ४० मिटरको सर्ज सुरुङ बनाउनु परेको छ ।

पुरानै डिजाइनमा निर्माण गर्दा सुरुङको धेरै भागमा स्टिल लाइनिङ गर्दा थप १ अर्ब ८४ करोड रुपैयाँ र थप १५ महिना लाग्ने देखिएको थियो । डिजाइन संशोधन गर्दा भने थप ७४ करोड लागत बढ्ने र जसको काम दुई महिनामै टुंगिने देखिएपछि सोहीअनुसार काम अगाडि बढाइएको थियो ।

हालै आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू भएको छ । हाइड्रोमेकानिकलको जिम्मा लिएको कम्पनी टेक्सम्याकाले गेट निर्माण तथा सामानको आयात समयमै अगाडि बढाएको छैन । अन्य कम्पनीहरुको काम भने सन्तोषजनक नै देखिन्छ ।

यसअघि असार ०७५ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । उक्त अवधि बढेर अहिले पुस ०७५ मा उत्पादन थाल्ने योजना बनाएको छ ।

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना हो यो । यस आयोजनामा कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब र राष्ट्रिय बीमा संस्थानले दुई अर्ब लगानी गरेका छन् । मन्त्रिपरिषद्ले ११ अर्ब आठ करोडसम्म लगानी गर्ने निर्णय गरेको छ ।