काठमाडौँ– भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चार दिने औपचारिक भ्रमणमा आज यहाँ आएका छन्।


ADVERTISEMENT


प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरे ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भवन शीतल निवासमा भोलि बुधबार आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्री एवम् प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग सेनाध्यक्ष रावतले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले नेपालको केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मीकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उनले निरीक्षण गर्ने कार्यक्रम छ ।

छिमेकी उच्चपदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार गर्न थप योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।