काठमाडौं-सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेश गर्न आदेश दिएको हो ।


ADVERTISEMENT


शुक्रबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहित दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले मतपत्रसहित अरु कागजात ल्याउन भनेको हो । सुनसरी–३ मा चौधरीलाई ३ सय २१ मतले हराउँदै नेपाली कांग्रेस उम्मेदवार विजयकुमार गच्छादार विजयी भएका थिए ।


ADVERTISEMENT

# # #


गच्छादारले निर्वाचन आयोग र प्रशासनलाईसमेत हातमा लिएर मिलोमतोमा आफूलाई हराएको भन्दै चौधरीले सर्वोच्च अदालतमा पुनः गणनाको माग गर्दै रिट निवेदन दिएकी थिइन् ।

चुनावसम्बन्धी मुद्दा संवैधानिक इजलाशले सुनुवाई गर्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले निर्वाचित विजय गच्छादारको शपथग्रहण रोक्ने कि नरोक्ने भन्नेबारे छलफल गर्न यही पुस २१ गते दुवै पक्षलाईसमेत बोलाएको छ ।

गएको मंसिर २१ गते भएको दोस्रो चरणको चुनावमा गच्छादारले ३८ हजार ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत पाएका थिए । मतगणनाका क्रममा त्यतीबेलै सुनसरी–३ मा विवाद भएको थियो ।