काठमाडौँ– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको मतपरिमाण चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


एमाले, सञ्चार इलाका कमिटीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भएकामा आज यहाँ आयोजना गरेको आफ्नो सम्मान तथा बधाई कार्यक्रममा उनले आयोगले आफूहरुसँगको भेटमा मतपरिमाण सार्वजनिक गर्ने भने तापनि अहिलेसम्म सार्वजनिक नगरेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


“कुन दलले कति पाएको छ भन्ने कुरा प्रष्ट छ । आयोगले हामीसँगको भेटमा एक दुई दिनमा सार्वजनिक गर्दछु भन्दछ”, उनले भने, “तर आयोग कसैको दवावमा अहिलेसम्म परिमाण सार्वजनिक नगरेर बसेको छ ।” नेता भट्टराईले आयोगलाई कसैको दवावमा नभई आफ्नो विवेकले काम गर्न आग्रह गरे ।

उनले राष्ट्रियसभाको निर्वाचनका लागि पुनः राजनीतिक दलले दर्ता गर्न आवश्यक नभएको विचार पनि राखे ।

वाम पार्टी एकतालाई कसैले पनि रोक्न नसक्ने बताउँदै एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले कुनै दुर्घटना नभई चाँडै पार्टी एकता हुने धारणा राखे। “अब एकतापछि नेतृत्वको कसले गर्दछ भन्ने बहस गर्न आवश्यक छैन”, उनले थपे, “जनअनुमोदन भइसकेकाले एकता कुनै पार्टीको रहर मात्र होइन । वामपन्थीले अब चाँडै बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्नेछन् ।”

कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले भट्टराई जस्ता युवा नेता मुलुकका लागि आवश्यक रहेको र अब युवाले नेतृत्व गर्नुपर्ने अवस्था आएको बताए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, इलाका सञ्चार कमिटीका इञ्चार्ज समिर नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टलगायतले सचिव भट्टराईलाई शुभकामना दिएका थिए । कार्यक्रममा गोरखापत्र संस्थानका नवनियुक्त प्रबन्ध सम्पादक श्रीधर आचार्यलाई समेत बधाई ज्ञापन गरिएको थियो