काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दासमेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगरेपछि रुष्ट बनेका एमाले नेता र आयोग पदाधिकारीबीच भनाभन सुरु भएको छ।


ADVERTISEMENT


आयोगले राष्ट्रियसभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्ने अडान लिएपछि एमाले नेताहरू रुष्ट बनेका हुन्। हरेकजसो सार्वजनिक कार्यक्रममा एमाले शीर्ष नेताहरू निर्वाचन परिणाम रोक्न आयोगलाई सरकारले दबाब दिएको र आयोग त्यसैअनुरूप चलेको आरोप लगाइरहेका छन्। आयोग पदाधिकारीले भने एमालेले निर्वाचनको कानुनी प्रक्रिया नै नबुझी आरोप लगाएको बताएका छन्।


ADVERTISEMENT

# # #


आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र एमाले नेता सुवास नेम्बाङबीच जुहारी नै चल्यो । खासगरी समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने विषयलाई लिएर उनीहरू एक–अर्काविरुद्ध खनिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभा चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने अडान दोहोर्‍याएका छन्। यादवले भने, ‘राष्ट्रियसभा चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिनेछ।’ यादवले कानुन नबुझेका एमाले नेताहरूले आयोगमाथि आरोप लगाएको बताए।

‘नतिजा सार्वजनिक गर्ने कानुनी प्रक्रिया नबुझेका एमाले नेताहरूले आरोप लगाएका हुन्। हामी स्वतन्त्र छौं, आरोपको पछि लाग्दैनौं’, उनले भने।

सोही कार्यक्रममा एमाले नेता सुवास नेम्बाङले निर्वाचन आयोगले दलको भूमिका निभाएर काम गरिरहेको आरोप लगाए। कर्मचारीले निर्वाचन परिणाम तयार पारेर बुझाइसक्दा पनि आयोग पदाधिकारीले त्यसलाई नियतवश रोकेको उनको आरोप थियो।

कुन दलले कति सिट पाउँछन् भन्ने प्रस्ट भइसक्दा कसैको दबाबमा परिणाम रोक्न नमिल्ने उनले बताए। ‘आयोगले एक महिनासम्म नतिजा लुकायो। संवैधानिक निकायको भूमिका निर्वाह गर्नुपर्नेमा दलको भूमिका निर्वाह गर्‍यो’, उनले भने।

एमाले सचिव प्रदीप ज्ञवालीले पनि आयोगलाई कुनै दलको शाखा कार्यालयजस्तो नबनी तटस्थ ढंगले काम गर्न आग्रह गरेका छन्। राजधानीबाहिर आइतबार एक कार्यक्रममा ज्ञवालीले यस्तो आग्रह गरेका हुन्।

प्रतिनिधिसभाको परिणाम नआउँदा सरकार निर्माणको बाटो अवरुद्ध बनेको भन्दै एमालेले सरकारले ‘परिणाम होल्ड गर्न’ दबाब दिएको आरोप लगाएको छ। सत्तामा बसिरहनका लागि कांग्रेसले यस्तो चलाखी गरेको एमाले नेता अग्नि खरेल बताउँछन्।

प्रत्यक्षतर्फ ८० सिट जितेर ठूलो पार्टी बनेको एमालेले समानुपातिकतर्फ पनि ४१ सिट पाउनेछ। प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सिटमा दलले प्राप्त गरेको मत भने आयोगले पुस २ गते नै सार्वजनिक गरेको थियो। मतको आधारमा सिट बाँडफाँट कार्य टुंगिसके पनि राष्ट्रियसभा निर्वाचन नहुँदासम्म परिणाम होल्ड गर्नुपरेको आयोगका एक सहसचिवले बताए।-आजको अन्नपूर्णबाट