काठमाडौं-बर्नलीमाथि लिभरपुलले संघर्षपूर्ण जित दर्ता गरेको छ । इंग्लिश प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा बर्नलीलाई २-१ ले पराजित गर्दै लिभरपुलले साँघुरो जित निकालेको हो ।


ADVERTISEMENT


बर्नलीको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र रागनर क्लाभनले गोल गरे । बर्नलीका जोहान बर्ग गुड्मुन्डसनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।


ADVERTISEMENT

# # #


अत्यन्त प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुबै टिम आक्रमक रणनीतिसहित मैदानमा उत्रिए । खेलको ६१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरूवाती अग्रता दिलाएका थिए ।

खेलको ८७ औं मिनेटमा बर्नलीका गुड्मुन्डसनले गोल गर्दै घरेलु टिमलाई बराबरीमा फर्काए । खेलको इन्जुरी समयमा लिभरपुलका लागि डिफेन्डर क्लाभनले गोल गरेपछि लिभरपुलले संघर्षपूर्ण जित दर्ता गर्‍यो ।

जितसँगै लिभरपुलले सबैखाले प्रतियोगिता गरी १६ खेलमा अपराजित यात्रा कायम गरेको छ । पछिल्लो १६ खेलमा लिभरपुलले ११ खेल जितेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।

बर्नलीमाथिको जितपछि चौथो स्थानमा उक्लिएको लिभरपुलले २२ खेलबाट ४४ अंक जोडेको छ । पराजित बर्नली ३४ अंक जोडेर लिगको सातौं स्थानमा छ । लिगको शिर्ष स्थानमा म्यानचेस्टर सिटीको २१ खेलबाट ५९ अंक भएको छ, दोस्रो स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको ४७ र तेस्रो स्थानमा रहेको चेल्सीको ४५ अंक भएको छ । यस्तै लिगको पाँचौ स्थानमा रहेको आर्सनलको ३८ अंक छ ।