काठमाडौं-झापासँग सीमा जोडिएको इलामको माङमालुङलाई चियाको ‘टि टेस्टिङ हबका’ बनाउन लागि माग गरिएको छ । २०५१ सालमा स्थापना भएको इलामको माङमालुङ चिया लिमिटेडको २२औँ साधारणसभाको अवसरमा यसका सञ्चालकले यस्तो माग गरेका हुन् ।


ADVERTISEMENT


अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले किसान तथा सेयर सदस्यको सहकार्यमा सञ्चालनमा ल्याइएको माङसेबुङ चिया बगान पूर्वी नेपालकै ठूलो भएकोले यसलाई चियाको टेस्टिङ हब बनाउन माग भएको हो ।


ADVERTISEMENT

# # #


झापाको दमकबाट करिब २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा रहेको माङसेबुङ चिया बगानको साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले किसानहरू सधैँ शोषण र दबाबमा रहेको बताउँदै यसको अन्त्य आवश्यक भएको बताएका छन् ।

उनले चिया क्षेत्रको विकासका लागि सबै एक हुनुपर्ने बताउँदै यहाँका किसानले उत्पादन गरेको चियाको मूल्य निर्धारण अरू कसैले नभएर आफै निर्धारण गर्ने अवस्था सिर्जना गराउन आवश्यक पहल गरिने भनाइ राखेका थिए । उनले चिया उत्पादन गर्ने किसान अहिले पनि साहूले निर्धारण गरेको मूल्यमा चियापत्ती बिक्री गर्न बाध्य रहेकोे बताए ।

कृषिमा आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र आर्थिक समृद्धिको सपना साकार हुने भन्दै यसका लागि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा चिया बगानका सञ्चालक केन्द्र प्रसाईले २०५१ सालमा स्थापना भएकोे माङमालुङ चिया बगान विस्तार गर्ने काम भइरहेको जानकारी दिएका छन् । अहिले पाँच हजार २१ रोपनी जग्गामा चिया लगाइएको उनले बताए । माङसेबुङ साथै यस क्षेत्रको विकास गर्न पर्यटन र चियालाइ जोड्नु पर्ने उनको भनाइ थियो ।

माङसेबुङको माङमालुङलाई टि टेस्टिङ हबका रूपमा विकास गराउन आफूहरू प्रयत्नशील रहेको भन्दै यसमा सहयोग गर्न आग्रह गरेका छन् । एक सय ५४ वर्ष अघिबाट नेपालमा चिया रोपनका थालनी भएको भए पनि अहिलेसम्म चियाको विषयमा राज्यले ठोस नीति तथा कार्यक्रम नल्याएको माङमालुङ चिया लिमिटेडका कार्यकारी निर्देशक केदार लामिछानेले बताए ।

उनले आफूहरूले विषादीरहित चिया उत्पादनमा जोड दिएको समेत जानकारी दिए । माङमालुङ चिया बगान एक हजार सात सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा रहेको छ भने यहाँको पर्यटकीय क्षेत्र मिक्लाजुङ्ग दुई हजार पाँच सय मिटरको उचाइमा रहेको छ ।