काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजले पहिलो जित दर्ता गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । काठमान्डुको जितमा राशिद खान र कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरे ।
राशिदले ३४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यस्तै कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन जोडे । जहानदान खानले अविजित २२ रन बनाएपछि काठमान्डुले लक्ष्य पूरा गर्न सफल भयो ।
अष्ट्रेलियन स्टार खेलाडी डेभिड वार्नरले पनि काठमान्डुका लागि एनपीएलमा डेब्यु गरे । नेपाल आइपुगेको भोलिपल्टै मैदान उत्रिएका वार्नरले १० बलमा १६ रन बनाए । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए ।
काठमान्डुको सुरुवात भने राम्रो हुन सकेन । वार्नर र स्मित पटेल सस्तैमा आउट भएपछि टोली २८ रनमै दुई विकेट गुमाउने अवस्थामा पुगेको थियो । त्यसपछि राशिद खान र आदिल आलमले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले ।
आदिलले २० रन बनाएर आउट भए भने भीम शार्कीले ४ रन मात्रै जोड्न सके । त्यसपछि राशिद र करणले २६ बलमै ५५ रनको महत्वपूर्ण साझेदारी गरे । राशिद अर्धशतक पूरा गरेलगत्तै आउट भए पनि करण र जहानदानले जितको आधार तयार पारे ।
अन्तिम दुई ओभरमा काठमान्डुलाई २१ रन आवश्यक थियो । जहानदान खानले १९औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै खेल काठमान्डुको पक्षमा मोडे । अन्तिम ओभरमा चार रन आवश्यक हुँदा जहानदानले चौथो बलमा दुई रन जोड्दै टोलीलाई जित दिलाए ।
बलिङतर्फ कर्णालीका सोमपाल कामी र हुसेन तलतले समान दुई विकेट लिए । मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो ।
कर्णालीका लागि अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाए । हुसेन तलतले ४० तथा पवन सर्राफले अविजित ३० रनको योगदान गरे । गुल्सन झाले २० रन जोडे ।
कर्णालीको सुरुवातमा जिशान आलम ७ रनमै आउट भएका थिए । अरिफुल र मार्क वाटले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे पनि मध्यक्रममा लगातार विकेट गुमाउँदा टोली दबाबमा परेको थियो ।
एक समय ७८ रनमा चार विकेट गुमाएको कर्णालीलाई पवन सर्राफ र हुसेन तलतले सम्हाले । यी दुईबीच पाँचौँ विकेटका लागि ६५ रनको साझेदारी भएको थियो । त्यसपछि पवन र गुल्सनले पनि १६ बलमा २८ रन जोड्दै टोलीलाई १८० रनसम्म पुर्याएका थिए ।
बलिङतर्फ काठमान्डुका कप्तान करण केसीले दुई विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिए ।
यस जितसँगै काठमान्डु गोर्खाजले दुई खेलबाट दुई अंक जोडेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमान्डुले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गरेको छ । लगातार दुई खेल जितेको कर्णाली याक्सले भने प्रतियोगितामा पहिलो हार व्यहोरेको छ ।


























