काठमाडौं-मजदुरीबाट घर फर्किंंदै गरेकी एक महिलालाई बोक्सीको आरोपमा छिमेकीले कुटपिट गरेका छन् । कुटपिटबाट घाइते सिरहा बेतहा खोरियाटोलकी ३६ वर्षीया रितादेवी दासलाई लहानस्थित राउस्मारक अस्पतालमा उपचार गरिएको थियो ।


ADVERTISEMENT


दासको पाखुरा, पिठयुँ, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । घर बनाउने काममा मजदुरी गर्दै आएकी रितालाई छिमेकी इनरदेवी दास र उनकी छोरी नीलमले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका थिए ।


ADVERTISEMENT

# # #


‘लहान बजारमा मजदुरी गरी शनिबार राति ८ बजे घर नजिक मात्र पुगेकी थिएँ,’ पीडित रिताले भनिन्, ‘इनर र नीलम आमा छोरी भएर बोक्सी भन्दै एक्कासि कुटपिट गरे ।’ कुटपिटबाट घाइते भएपछि दुई दिनसम्म लहान अस्पतालमा भर्ना भएकी उनले यो समेत गरी बोक्सीको आरोपमातीन पटक छिमेकीको कुटाइ खानुपरेको सुनाइन् ।

खोरिया टोलमा ऐलानी जग्गामा बसोबास गर्दै आएकी रिताले पति सिल्टु, २ छोरा र १ छोरीको लालनपालन मजदुरीबाट चलाउँदै आएकी छन् । पति सिल्टु दास विगत तीन वर्षदेखि मधुमेहबाट थलिएका छन् ।

‘दिनभरि मजदुरीमा खटेबापत ५ सय रुपैयाँ ज्याला पाउँछु,’ उनले भनिन्, ‘टोल छिमेकमा गयो, यस्तो दुव्यर्वहार सहनुपर्छ ।’ मधुमेह रोगले ग्रसित पति सिल्टुलाई आफूले नै रोगी बनाएको र उनीहरूको घरमा पनि रोग बिसाउन खोजेको भन्दै आमाछोरीले पटक–पटक आफूलाई गालीगलौज गर्ने गरेको पीडित रितादेवीले सुनाइन् ।

यसअघि पनि आमाछोरीले ल्याएको बिजुली धामीले तन्त्रमन्त्र गरेर आफूलाई बोक्सी प्रमाणितगर्दै गाउँलेलाई बोलाई अनेक किसिमको बेइज्जती गरेको पीडितको गुनासो छ ।

दुई पक्राउ
बोक्सीको आरोपमा कुटपिट गर्ने आमाछोरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । खोरियाटोलकी ३५ वर्षीया इनरदेवी दास र उनकी छोरी १६ वर्षीया नीलमलाई प्रहरीले पक्राउ गरेको हो । दुवै आमाछोरीले आफ्नै छिमेकी ३८ वर्षीया रितादेवी दासलाई कुटपिट गरेको इलाका प्रहरी लहानले जनाएको छ ।

‘पीडितलाई यसअघि तीनपटक बोक्सीको आरोप लगाउँदै कुटपिट गरिए पनि गाउँमै छलफलबाट मिलाउने गरेका रहेछन्,’ इलाका प्रहरी लहानका प्रहरी नायब उपरीक्षक गणेशबहादुर चन्दलेभने, ‘यसपटक अति भई पीडितले आफैं न्यायका लागि प्रहरी कार्यालयमा आएपछि घटना सार्वजनिक भएको हो ।’

पटक–पटक यातना दिने र कुटपिट गर्ने दुवै जनालाई बोक्सीको आरोपको मुद्दा दर्ता गरी कारबाही सुरु गरिएको उनले जानकारी दिए । उता, कुटपिटमा संलग्न इनरदेवी र नीलमले भनाभन भएपछि हातपात भए पनि बोक्सीको आरोप नलगाएको बताए ।