काठमाडौं-काठमाडौं उपत्यकामा चिसो बढेसँगै राजधानीका अस्पतालहरूमा रुघाखोकी, झाडापखाला, निमोनिया, दम र ब्रोङकाइटिसको उपचार गर्न आउने बिरामी बढेका छन् । सरकारी अस्पतालमा उपचारका लागि जाने यस्ता बिरामीमध्ये करिब ६० प्रतिशत चिसोका कारण बिरामी हुने गरेका छन् ।


ADVERTISEMENT


चिसोले सबैभन्दा धेरै प्रभावित हुनेमा बालबालिका र वृद्धवृद्धाको संख्या बढी छ । कान्ति बाल अस्पतालमा उपचार गराउन आएकामध्ये आधाभन्दा बढी रुघाखोकीबाट पीडित छन् । कान्ति बाल अस्पतालका निर्देशक डा.गणेशकुमार राईका अनुसार रुघाखोकी बिग्रेर निमोनिया, ब्रोङकाइटिस र बालबालिकाको दमका बिरामीको संख्या बढेको छ ।


ADVERTISEMENT

# # #


ब्याक्टेरिया र भाइरस संक्रमणबाट हुने निमोनियाले २ वर्षमुनिका बालबालिकालाई सताएको चिकित्सक बताउँछन् । डा. राई भन्छन्, ‘रोटा भाइरसबाट हुने झाडापखालाबाट पनि बालबालिका पीडित छन् ।’ अस्पतालमा दैनिक उपचारका लागि आउने करिब ५ सय बिरामीमध्ये आधाभन्दा बढी रुघाखोकी र झाडापखालाका भएको डा. राईले बताए ।

वीर अस्पतालको आकस्मिक विभागका प्राडा. सुशील शाक्यका अनुसार उपचार गर्न आउनेमध्ये करिब ६० प्रतिशत दमखोकीका बिरामी छन् । काठमाडौंमा व्याप्त प्रदूषण र चिसोका कारण रुघाखोकी, दम र ब्रोङकाइटिसका बिरामी बढी समस्याग्रस्त छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका फिजिसियन डा. निरज बमले चिसो बढेसँगै भाइरल इन्फेक्सनका बिरामीको संख्या बढेको बताए। उनले भने, ‘दम र रुघाखोकीका बिरामीको संख्या निकै बढेको छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाका उमेरका बिरामीको भीड लाग्ने गरेको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. सविना महर्जनले दम, निमोनिया र झाडापखालाका बिरामी आउने क्रम बढेको बताइन् । अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक एवं सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले ‘सिजनल फ्लुुका बिरामीको संख्या बढेको बताए ।’ ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न अप्ठेरो हुने खालका लक्षण भएका बिरामी उपचारमा आउने गरेको डा. पुनले बताए ।