काठमाडौं-‘प्राइमिनिस्टर इन वेटिङ’ केपी ओलीले चीन सीमावर्ती रसुवागढी पुगेर काठमाडौंबाट नाकासम्म चार लेनको सडक बनाउने बताएको धेरै दिन भएको छैन ।


ADVERTISEMENT


यसबीचमा काठमाडौं र चीनसँगको व्यापारिक नाका रसुवागढीलाई सडकमार्गबाट नजिक्याउने गरी तयार भएको सुरुङमार्ग निर्माणको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । सडक विभागले काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर अर्थ मन्त्रालयमा निर्माणका लागि वैदेशिक सहायता जुटाउन प्रस्ताव गरेको छ ।


ADVERTISEMENT

# # #


सुरुङमार्ग र त्यसलाई गल्छी-स्याफ्रुबेंसी सडकमा जोड्ने पहुँच मार्ग बनाउन साढे २६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको विभागको वैदेशिक सहयोग समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त परियोजना निर्माणका लागि सरकारले चीनमा मुख्य कार्यालय रहेको एसियन इन्फ्रास्ट्रक्चर डेभेलपमेन्ट बैंक (एआईडीबी)लाई अनुरोध गरिसकेको छ । उक्त बैंकले सकारात्मक प्रतिक्रिया दिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ । बैंकले त्यसबारे थप अध्ययन गरेर प्रस्ताव ल्याउन आग्रह गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा त्यसका लागि रकम विनियोजन गरेर अध्ययन अगाडि बढाउने सरकारी योजना छ । चाँडै गठन हुने नयाँ सरकारले निर्माणको मोडालिटी टुंगो लगाउने अपेक्षा सडक विभागका अधिकारीहरुको छ ।

‘रसुवागढीसम्म जाने सहज र भरपर्दो मार्ग’

काठमाडौंको टोखाबाट नुवाकोटको थानसिंह फाँटछेउ पुग्ने उक्त सुरुङ करिब चार दशमलव दुई किलोमिटरको हुनेछ । टोखासम्म सडक विस्तार भइसकेको छ । साढे २६ अर्ब लागत अनुमान गरिएको प्रस्ताव सडक विभागबाट अर्थ मन्त्रालयमा, चिनियाँ लगानी बैंकको सकारात्मक प्रतिक्रिया

थानसिंह फाँटबाट नुवाकोट र रसुवाका विभिन्न खोलाका तीरैतीर निर्माण हुने सडक गल्छी-स्याफ्रुबेंसी खण्डमा जोडिनेछ । सुरुङ र पहुँच मार्ग निर्माणपछि काठमाडौंबाट रसुवागढी अढाइ घण्टाको ‘ड्राइभिङ’मै पुग्न सकिनेछ । उक्त मार्गमा पहिरोको जोखिम पनि कम छ । खोलाको किनारबाट निर्माण हुने भएकाले बनाउन पनि सजिलो हुने अपेक्षा छ ।

सुरुङलाई पासाङल्हामु राजमार्गसँग जोड्न ३५ किमिको पहुँचमार्ग पनि निर्माण गर्नुपर्नेछ । अहिले चीनले रसुवागढी र स्याफ्रुबेंसीबीचको १६ किमि सडक दुईलेनमा स्तरोन्नती गर्न अध्ययन सकेको छ ।

रसुवागढी-स्याफ्रुबेंसी सडक र टोखा-छहरे सुरुङमार्ग बनेपछि चीनसँग काठमाडौंको दूरी अझै नजिकिनेछ । ‘विस्तृत अध्ययन हुन बाँकी छ । अध्ययनपछि पनि यस क्षेत्रमा विभिन्न परिवर्तनहरु भएका छन्,’ श्रेष्ठ भन्छन्, ‘तर, आधारभूत रुपमा रसुवागढीसम्म जाने सहज र भरपर्दो मार्गको विकल्प बन्न सक्छ यो ।’

चीन सरकारले तातोपानी नाका बन्द गरेर हिले-रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ । तिब्बतीहरुको चीनविरोधी गतिविधि बढेको बताउँदै सामरिक रुपमा तातोपानी खोल्नुभन्दा रसुवागढीलाई अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नती गर्ने चीनको इच्छा छ । सोहीअनुरुप रसुवागढी पुग्न सहज मार्गको खोजी भइरहेको थियो । गल्छीबाट स्याफ्रुबेंसी पुग्ने सडक निकै साँघुरो र जोखिमयुक्त छ, अहिले । एक लेनको सडकमा विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी दुर्घटनाको जोखिम उच्च छ ।

त्यसको विकल्पमा सुरुङमार्गसहित नयाँ सडकको विकल्पमाथि अध्ययन भएको हो । अध्ययनबाट सुरुङमार्गसहित वैकल्पिक सडक निर्माण गर्न सकिने देखिएपछि सडक विभागले अर्थ मन्त्रालयमा प्रस्ताव लगेको हो । विभिन्न चिनियाँ कम्पनीले इन्जिनियरिङ, खरिद, निर्माण तथा फाइनान्सिङ (ईपीसीएफ) मोडेलमा उक्त सुरुङमार्गमा लगानी गर्न इच्छा देखाएका छन् । तर, सरकारले यसलाई कसको सहयोगमा र कसरी निर्माण गर्ने भन्ने निर्णय गरेको छैन ।

सम्भवतः नयाँ सरकार आउनासाथ यसबारे अन्तिम निर्णय भएर डीपीआर निर्माण अगाडि बढ्ने सडक विभागका अधिकारीहरु बताउँछन् । यसमा चीनकै सहयोग लिने सम्भावना उच्च छ । पूर्वसचिव तुलसीप्रसाद सिटौला पनि उक्त सडक मार्ग निर्माण भएपछि चीनसँग काठमाडौंको ‘रोड कनेक्सन’ दरिलो बन्ने बताउँछन् । यो योजना सफल भए रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन थप सहज हुने अपेक्षा गरिएको छ ।

चीनसँगको नाका जोड्ने सडकमा भौगोलिक हिसाबले आउने अवरोध छल्न सुरुङमार्गसहितको सडक सहयोगी बन्नेछ । उक्त सुरुङ र सडक निर्माणपछि राम्चे र ग्राङको पहिरोका कारण वषरयाममा आपूर्ति अवरुद्ध हुने समस्या पनि बाँकी रहने छैन ।

धुलिखेल सडकमा पनि सुरुङ

तातोपानी नाका जोड्ने अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल खण्डमा पनि सुरुङ निर्माणसम्बन्धि अध्ययन भइरहेको छ । उक्त सडकलाई आठ लेनको बनाउने सरकारी योजना छ । उक्त सडक र सुरुङमा जापानले लगानी गर्दैछ ।

आगामी फेब्रुअरीमा नेपाल र जापानबीच द्विपक्षीय बैठक हुँदैछ । सोही बैठकले यससम्बन्धि निर्णय लिने महाशाखा प्रमुख श्रेष्ठ बताउँछन् । कोटेश्वर-सूर्यविनायक सडक विस्तारमा लगानी गरेको जापानले धुलिखेलसम्मको थप १६ किमि खण्ड पनि आठ लेनको बनाइदिन लागेको हो ।

उक्त खण्डमा भक्तपुरको पलाँसेबाट सुरुङ खन्ने विकल्पमा अध्ययन भएको छ । त्यसको लम्बाइ र अन्तिम विन्दु भने निर्णय हुन बाँकी छ । धुलिखेल सडकमा धेरै घुम्ती भएकाले सुरुङमार्ग नै बनाउने योजनामा अध्ययन भएको हो ।

उक्त खण्डको स्तरोन्नतीपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछापलगायत लामो दूरीका गन्तव्यका बसलाई धुलिखेलसम्म मात्र आउन दिने र त्यहीँबाट छुटाउने व्यवस्था गर्न सहज हुनेछ ।