भक्तपुर– मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन् ।


ADVERTISEMENT


उनले यसअघि २०६२ देखि २०६५ सालसम्म चारपटक जिब्रो छेडिसकेका छन् । २०६६ सालमा घरमा श्रीमती सुत्केरी भएपछि उनले जिब्रो नछेड्ने घोषणा गरेका थिए । त्यसपछि जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेड्दै आइरहेका थिए। विगत आठ वर्षदेखि जिब्रो छेड्दै आइरहेका जुजुभाइले यसवर्ष घरमा श्रीमती र भाउजू बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरेसँगै जात्राका लागि जिब्रो छेड्ने व्यक्तिको खोजी सुरु भएको थियो ।


ADVERTISEMENT

# # #


जात्रा नै रोकिने अवस्था आएकाले आफूले पुनः जिब्रो छेड्ने निर्णय लिएको बुद्धकृष्णले बताए । बोडेको जात्रामा बोडेबासीमध्ये पनि यहाँका श्रेष्ठ थरका व्यक्तिले मात्र जिब्रो छेड्नु पर्ने परम्परा रहेको छ । जिब्रो छेड्ने व्यक्तिले भोजभतेरसमेत गर्नुपर्ने भएकाले आर्थिक दृष्टिले निक्कै सकस पर्ने गरेको बुद्धकृष्ण बताउँछन्। जात्राका लागि मध्यपुर थिमि नगरपालिका, संस्कृति मन्त्रालय, गुठी संस्थानलगायतले आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन् ।

जात्रा प्रत्येक वर्षको वैशाख २ गते बिहान हुने गर्दछ । स्थानीय पाचोबाट सुरु हुने जात्रा बोडेका विभिन्न स्थान र नगरको परिक्रमापछि पुनः पाचोस्थित महालक्ष्मी मन्दिरमा पुगेर समापन हुने गर्दछ ।