काठमाडौं-कृषि विकास बैंकको न्युरोडस्थित शाखा कार्यालयबाट चार करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेकी दीपिका रेग्मीको बैंक लकरबाट दुई किलो (१७० तोला) सुनका गहना बरामद गरिएको छ । ३२ वर्षीया रेग्मीले सो गहना बैंकबाट हिनामिना गरेको रकमबाट खरिद गरेकी थिइन् । घरमा हराउने र बैंकमा स्रोत खुल्ने डर भएपछि उनले आफू कार्यरत बैंकको निजी लकरमा गहना राखेको प्रहरीको भनाइ छ । बैंकको लकरमा थरीथरीका सुनका गहना फेला परेपछि अनुसन्धानमा खटिएका प्रहरी नै चकित परेका थिए ।


ADVERTISEMENT


अनुसन्धानमा खुल्यो बैंकमा लकर रहेको रहस्य
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले रेग्मीको लकरबाट १७० तोला सुनका गहना फेला परेको बताए । ‘बैंकबाट हिनामिना गरिएको रकम खोज्दै गयौँ । बैंकमा उनको (रेग्मी) को निजी लकर छ भन्ने खुल्यो । लकरभित्र सुनका अनगिन्ती गहना फेला परे । जोख्दा दुई किलो सुनका गहना रहेछन्,’ उनले भने ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार रेग्मीले बैंकमा रहेको लकर सम्बन्धमा केही जानकारी दिएकी थिइनन् । हिनामिना भएको रकम पहिल्याउँदै जाने क्रममा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयमा उनको निजी लकर रहेको खुलेको हो ।

सुरुमा प्रहरीले उनलाई लकर खोल्न भने पनि इनकार गरेकी थिइन् । शंकास्पद देखिएपछि प्रहरीले बैंक व्यवस्थापनको सहयोगमा उनको निजी लकर खोलिएको थियो । ‘बैंकमा उनको लकर रहेको खुलेपछि खोल्न भन्यौँ । तर, उनले मानिनन् । पछि बैंकको सहयोगमा खोलेर हेर्दा त थुपै्र गहना फेला परे,’ सिआइबी प्रवक्ता एसपी जीवन श्रेष्ठले भने ।

लकरभित्र एक करोड मूल्यका गहना
प्रहरीका अनुसार लकरभित्र एक करोड रुपैयाँ मूल्य बराबरका गहना राखिएको रहेछ । सिआइबीका अनुसार रेग्मीको लकरभित्र तिलहरी, जन्तर, शिरबन्दी, चुरा, औँठी, झुम्का, सिक्री, ब्रासलेट, नेक्लेस, ढुंग्रीलगायत गहना फेला परे ।

हिनामिना गरिएको रकम खोज्दै जाने क्रममा प्रहरीले ३३ लाख रुपैयाँ नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टको बैंक खातामा भेटेको थियो । सोही प्रकरणमा सेनाले सहायक रथी विष्टमाथि छानबिन सुरु गरिसकेको छ । प्रहरीका अनुसार घटनाकी मुख्य योजनाकार नागार्जुन–१ की ३२ वर्षीय रेग्मी थिइन् ।

उनी बैंकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाडौं–३२ का ४७ वर्षीय प्रेमहरि ढुंगेल, टोखा–८ का ५६ वर्षीय गोपाल गिरी र चन्द्रागिरि–५ का ३९ वर्षीय महेश्वर मरहठ्ठा, काठमाडौं–१६ का ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं–३२ का ४२ वर्षीय रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँड्ने काम गरेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्रहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातमा जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रिसिभ पनि दिन्थे । तर, सो रकम दीपिका रेग्मी वा उनका आफन्तको बैंकमा जम्मा गर्थे । पक्राउ परेकी रेग्मीसहित सबैलाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा चलाइएको छ । – आजको नयाँ पत्रिकाबाट