काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा पर्यटनमा रु दुई अर्ब ५८ करोडले बजेट वृद्धि गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन्


ADVERTISEMENT


चालु आर्थिक वर्ष २०७९/८० मा पर्यटन क्षेत्रका लागि रु ९ अर्ब ३८ करोड र हवाई पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड विनियोजन गरी रु २१ अर्ब ६२ करोड बजेट विनियोजन भएको थियो । सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्य र विस्तारका लागि रु दुई अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।


ADVERTISEMENT

# # #


१० लाख पर्यटक भित्र्याउने लक्ष्य

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त लक्ष्य घोषणा गरिएको हो ।

सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीकाकारण झण्डै तीन वर्ष खुम्चिएको विदेशी पर्यटक आगमन सन् २०२३ को चार महिनामा पुरानै लयमा फर्कने संकेत गरेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना औसतमा करिब एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ को चार महिनामा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भ्रमण दशक मनाइने

सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने घोषणा गरेको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकको रुपमा मनाउने घोषणा गरेको हो ।

बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने योजना उल्लेख छ । पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने समेत सरकारको लक्ष्य छ । त्यस्तै हवाई यातायात सेवालाई सुरक्षित र गुणस्तरीय बनाइने र पर्यटकीय सेवाको गुणस्तर सुधार गर्ने बजेटमा उल्लेख छ ।

बजेटमा अन्तर प्रदेश हवाई सेवा विस्तार गरिनुका साथै हिमाली पदयात्रा हिमालयन ग्रेट ट्रेल निर्माण गरिने, पशुपति क्षेत्र विकासको बृहत गुरुयोजना कार्यान्वयनमा ल्याउने र लुम्बिनी गुरुयोजनालाई परिस्कृत गरिने समेत उल्लेख छ ।

बजेटमा महत्वपूर्ण सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने, हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने, भूकम्पबाट क्षतिग्रस्त २५ वटा सांस्कृतिक सम्पदाको पुनःनिर्माण सम्पन्न गर्ने रहेको छ । साथै कोशी प्रदेशको पाथिभरा, चरारा बराहक्षेत्र, हलेसी, किरातहरुको उद्गम स्थल तुवाचुङ, बागमती प्रदेशको भीमसेन र कालिन्चोक महादेव संरक्षण र प्रवर्द्धन गरिने बजेटमा उल्लेख छ ।

टाकुरा पर्यटन प्रवर्द्धन गरिने

‘अतिथि देवो भवः’ भन्ने नेपाली संस्कृति अनुरुप पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरिनेछ । ‘नेपाल घुमौ, नेपाल चिनौ’ भन्ने नारासहित अभियान सञ्चालन गरिनेछ । साहसिक चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ । पहाडी शहरलाई हिलस्टेशनका रुपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न आगामी आवमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक–एक हिल स्टेशन विकास गरिने उल्लेख छ । काठमाडौँ उपत्यका लगायत सम्भाव्य स्थानमा हाइकिङ तथा टाकुरा पर्यटन प्रवर्द्धन गरिने बजेटमा जनाइएको छ ।

प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाइने

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी नियामक र सेवा प्रदायक अलग–अलग निकायको रुपमा स्थापित गरिने आगामी आर्थिक बर्षको बजेटमा उल्लेख छ ।

उडान सुरक्षालाई उच्च प्राथमिकतामा राखी गुणस्तरीय पूर्वाधार विकासमा सुधार गर्नुका साथै नियामकीय भूमिकालाई सबल बनाइने अर्थमन्त्री डा महतले बताए।

बजेटमा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने उल्लेख छ । गौतमबुद्ध विमानस्थलमा बौद्धमार्गी बाहुल्यता भएका मुलुक भारत, चीन, श्रीलंका थाइल्याण्डलगायत राष्ट्रबाट सिधै उडानको व्यस्था मिलाउने सरकारको लक्ष्य छ । अन्तर्राष्ट्रिय मुलुकसँग हवाई सम्पर्क सञ्चाल विस्तारका लागि द्विपक्षीय हवाई सेवा सम्झौता गरिने बजेटमा समेटिएको छ ।

निजगढ विमानस्थल निर्माण अघि बढाइने

सरकारले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा विमानस्थल बनाउन लागिएको हो । आयोजनाको पूर्व तयारीका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

उहाँका अनुसार यसवर्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्तिसहितका पूर्वतयारीका काम सकिनेछ । लगानीको मोडालिटी टुङगो लगाएर निर्माण चाँडै अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यो विमानस्थल निर्माण गरिने उल्लेख छ ।

वायुसेवा निगमको पुर्नसंरचना गरिने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पुर्नसंरचना गरी व्यवस्थापकीय कार्यमा सुधार गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पनि वायु सेवा निगमको पुर्नसंरचना गरिने उल्लेख छ ।

आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउँदै बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिरहेको बजेटमा उल्लेख छ । आन्तरिक उडानलाई प्रभावकारी बनाउन थप जहाज खरिद गरेर गन्तव्य विस्तार गर्ने निगमको योजना छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई थान वाइड बडी र दुई थान न्यारो बडी जहाज छन् । आन्तरिक उडानतर्फ हाल दुई थान ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

आठ विमानस्थल स्तरोन्नति गरिने

सरकारले आगामी आर्थिक वर्षमा आठ विमानस्थलको स्तरोन्नत्ति गर्ने भएको छ । आगामी आवको बजेटमा विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने जनाइएको छ ।

रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने बजेटमा घोषणा गरिएको छ । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने उल्लेख छ । रासस