काठमाडौं-वातावरणीय प्रभाव मूल्यांकन नहुँदा सरकारको प्राथामिकतामा रहेको महाकाली करिडोर सडक निर्माणकार्य स्थगित भएको छ । चालू आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइएको ब्रह्मदेवदेखि डडेलधुरा, बैतडी हुँदै दार्चुलाको तिंकरसम्मको ४ सय २६ किलोमिटर सडकखण्ड इआइए नबन्दा रोकिएको दार्चुला तिंकर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए ।


ADVERTISEMENT


दार्चुला तिंकर सडक योजनाले अहिले महाकाली करिडोरको जिम्मेवारी लिएको छ । डडेलधुरा, बैतडी र दार्चुलामा गरी तीन खण्डमा निर्माणकार्य चलिरहेकै वेलामा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) विना काम नगर्न दबाद आएपछि काम रोकिएको उनले बताए । कञ्चनपुरको ब्रह्मदेवमा भने सडक निर्माणका लागि ठेक्कासमेत भएको छैन ।


ADVERTISEMENT

# # #


महाकाली नदिको किनारैकिनार बन्ने महाकाली करिडोर वन क्षेत्रमा पर्ने भएकाले वातावरणीय प्रभाव मूल्यांकनविना कार्य रोकिएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले बताए ।

महाकाली करिडोरअन्तर्गत बैतडीको त्रिपुरासुन्दरीबाट १० किलोमिटर ट्र्याक खोलिएको र बाँकी इआइएकै कारण रोकिएको वन कार्यालयले जनाएको छ । वन क्षेत्रलाई हानि नगर्ने क्षेत्र भएकाले त्रिपुराबाट १० किलोमिटर ट्र्याक खोल्न दिइएको वन कार्यालयले जनाएको छ ।

दार्चुला तिंकर सडक निर्माण गर्न चाहिने १० टन विस्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा निर्माणकार्य अघि बढ्न नसकेको योजना प्रमुख शाहको भनाइ छ । तिंकर सडकको पीपलचौरीको विजयपुर भिर, राप्लाको फतङगाडदेखि घाँटी बगर क्षेत्रमा सडकको ट्र्याक खोल्न विस्फोटक पदार्थ आवश्यक छ ।