काठमाडौं-धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै विगत ६ दिनदेखिको आमहड्ताल आज पनि जारी रहेको छ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनु पर्ने मुख्य मुद्दा बनाएका धनकुटावासीले झन्डै एक महिनादेखि आन्दोलनमा विभिन्न गतिविधि गर्दै आएका छन् ।


ADVERTISEMENT


पछिल्लो ६ दिनदेखि भने जिल्लामा आमहड्ताल आव्हान गरिंदै आएको छ । हिजो अपरान्ह ५ बजेदेखि यातायात खुला गरिएपनि पुन: आज बिहान ६ बजेदेखि बन्द आव्हान गरिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए । बिहानदेखि भएको यातायात बन्द सॉझ ६ बजेसम्म कायम रहने श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


बन्द आव्हान गरिएपछि कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चल्न सकेका छैनन् । उक्त बन्दका कारण धनकुटा भएर संखुवासभा, तेह्रथुम, भोजपुरतर्फ सञ्चालन हुने यातायात साधन समेत ठप्प रहेको छ ।

धनकुटा बजारसहित हिले, पाख्रिबास, सिधुवा, डॉडाबजार, राजारानी लगायतका व्यापारिक केन्द्र पनि बन्द आव्हान गरिएको परिचालन समितिका संयोजक श्रेष्ठले जानकारी दिए । बन्दका कारण आफुहरुले सास्ती खेप्नु परेको सर्वसाधारणको गुनासो छ । धनकुटामा आज पनि बजार, पसल, कलकारखाना, शिक्षण संस्था समेत बन्द आव्हान गरिएको छ ।

जारी आन्दोलनको नेतृत्व प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य निरन राई तथा जिल्लास्थित राजनैतिक दलका नेता, सामाजिक संस्था लगायतले गरेका छन् । आन्दोलनरत पक्षले हिजो धनकुटालाई सांकेतिक रुपमा राजधानी घोषणा गरेपछि थप आन्दोलनको स्वरुप परिवर्तन गरिंदै जाने जनाईएको छ ।